देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरीमा बस दुर्घटना हुँदा १६ जना घाइते

 फागुन २३, २०८१ शुक्रबार १२:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । काठमाण्डौ, उदयपुर, बारा र दाङमा भएका दुर्घटनामा परी सात जनाको ज्यान गएको हो ।

काठमाण्डौको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन् । द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले जस्ताको टहरामा सञ्चालन गरेको बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिरेर भएको दुर्घटनामा थर नखुलेका दुई बालक आकाश र सुमन  तथा ४५ वर्षका हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका–६ साँखु सलम्बुटारमा रहेको साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर आज बिहान साढे ३ बजेतिर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएर भित्र पसेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिनुभयो ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । संस्थामा  ६१ जना बस्दै आएका थिए । टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरको सदरमुकाम गाईघाटमा जीपको ठक्करबाट सडकको छेउमा उभिएका  दिदीबहिनीको ज्यान गएको छ । त्रियुगा बसपार्क जाने सडक खण्डमा जीपको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।

हिजो बेलुका प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो । चालक त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

आज बिहान हुलाकी राजमार्गअन्तर्गत बघवनमा ना ६ ख ५०६७ नम्बरको बसले ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

यस्तै दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा गणेश चौधरीको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय चौधरीको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको प्रहरी चौकी अमिलियाका प्रहरी प्रमुख भवानीप्रसाद धमलाले जानकारी दिनुभएको छ ।

रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यसैबीच महोत्तरीमा बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् । ना ३ ख ८९९७ नम्बरको बस आज बिहान मडईको सडकमा पल्टिएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका र उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया