५ वर्ष मलेसियामा बिताएका सर्लाहीका इन्द्रलाल बम केराखेतीबाट मनग्गे आम्दानी गर्दै

 फागुन २५, २०८१ आइतबार १२:११:५ | रासस
unn.prixa.net

सर्लाही – सर्लाहीकाे बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत ९ वर्षदेखि केराखेतीमा संलग्न हुनुहुन्छ । उहाँले साढे ७ बिघा खेतमा केराखेती गर्नुभएको छ । मेहनत अनुसारको उत्पादन र उत्पादन अनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको इन्द्रलालले बताउनुभयाे ।

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उहाँको तर्क छ । ‘हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छाैँ’, उहाँले भन्नुभयो । झन्डै ५ वर्ष वैदेशिक रोजगारीमा मलेसियामा बिताउनुभएका उहाँ युवाहरूलाई देशमै केही गर्न आग्रह गर्नुहुन्छ ।

विगत १ दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म इन्द्रलाल केराबारीमा भेटिनुहुन्छ । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उहाँको अनुभव छ । ‘हाम्रो बानी कस्तो छ भने खेतमा बाली लगाउने अनि फर्केर नजाने’, उहाँले भन्नुभयो, ‘यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।’

बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उहाँले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिनुभएका उहाँ २०६५ सालमा वैदेशिक रोजगारीमा जानुभयो । ‘देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२/६३ मा काठमाण्डाै केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो’, उहाँले विगत सम्झनुभयो ।

‘शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो’, इन्द्रलालले सुनाउनुभयाे । सीपविनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उहाँको भनाइ थियो ।

‘यसरी ५ वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती शुरू गरेँ’, उहाँले भन्नुभयाे । त्यसयता उहाँले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा ५ सय रुपैयाँ कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उहाँले उल्लेख गर्नुभयाे । पुर्ख्याैली सम्पत्तिका नाममा ३ कठ्ठा जग्गा पाउनुभएका उहाँले १० वर्षमा १५ कठ्ठा खेत, २ ठाउँमा घडेरी जोडेको बताउनुभयो । ३ सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उहाँको भनाइ छ ।

उहाँले १ छोरालाई फार्मेसी पढाउनुभएको छ । २ सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको इन्द्रलाल बताउनुहुन्छ । आफूहरूजस्तो निम्न वर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको उहाँले भनाइ छ । पैतृक सम्पत्तिका नाममा ३ कठ्ठा खेत पाउनुभएका उहाँले छिमेकीको १ बिघा खेत भाडामा लिएर केराखेती शुरू गरेको बताउनुभयो ।

इन्द्रलालको केराखेती अहिले साढे ८ बिघा पुगिसकेको छ । उहाँले वर्षको प्रतिकठ्ठा ४ हजार ८ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म भाडा तिर्नुहुन्छ । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन शुरू हुन्छ । ९ हजार २ सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा १ सय बोटसम्म केरा क्षति हुने गरेको उहाँको भनाइ छ । शुरूमा खनजोत, मलखाद, मजदूर गरी २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा ३१ लाख रुपैयाँभन्दा धेरैको केरा बिक्री गर्ने उहाँको भनाइ छ ।

प्रतिघरीमा ९० देखि १ सय कोसा केरा फल्छ, उहाँले भन्नुभयो, मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा २ सय कोसासम्म फल्छ । प्रतिकोसा ३ रुपैयाँ ५० पैसाका दरले कम्तीमा ३ सय ५० देखि ५ सय रुपैयाँसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । हप्तामा २ सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ, उहाँले भन्नुभयो, ६/७ बिघामा गरेको खेतीले पुर्‍याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु । पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उहाँ सुनाउनुहुन्छ । किसान इन्द्रलालले केराखेतीमा ५ जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

उहाँ आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदूरको काम आफैँले भ्याउने गरेको उहाँको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग आफूहरूकाे महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उहाँ बताउनुहुन्छ । खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सिर्जना गरेकामा उहाँले दुःख व्यक्त गर्नुभयो । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अस्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उहाँ बताउनुहुन्छ । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । उहाँले भन्नुभयो, ‘उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो ।’

बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको भन्दै यस पेशाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिनुभयो । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया