नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
भोजपुर - नेवार समुदायको साँस्कृतिक पर्व लाखेजात्रा पहाडी जिल्ला भोजपुरमा दशक अघि हर्षेाल्लास र धुमधामका साथ मनाइन्थ्यो । छुट्टै मौलिक संस्कार र पहिचान बोकेको लाखेजात्रा यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।
नेवार समुदायको बाहुल्य रहेको भोजपुर सदरमुकाममा धुमधामका साथ लाग्ने लाखेजात्राको रौनक पछिल्लो समय बिस्तारै हराउँदै गएको छ ।
१० वर्ष अघि भोजपुर सदरमुकामसँगै गाउँ-गाउँमा समेत लाखेजात्रा धुमधामका साथ लाग्ने गर्थ्याे । गाउँबाट सदरमुकाममा समेत जात्रा देखाउन आउनेको बाक्लै घुइँचो लाग्थ्यो ।
बजारमा लाखे निस्किँदा बाटोमा खुट्टा राख्ने ठाउँसमेत हुँदैनथ्यो । लाखे हेर्ने मानिसहरुको भिडले केटाकेटी र वृद्ध-वृद्धाहरुलाई हिँडनसमेत मुश्किल पर्थ्याे । तर अहिले सदरमुकाममा समेत लाखेजात्रा हेर्न निकै मुस्किल पर्न थालेको छ । पछिल्ला वर्षका लाखेजात्रा सुनसान बन्न थालेका छन् । नागपञ्चमीदेखि सुरु भएर कृष्णजन्माष्टमीको भोलिपल्टसम्म लाग्ने लाखेजात्राको चहलपहल भोजपुरमा क्रमशः हराउँदै गएको छ ।
युवापुस्तालाई लाखेजात्राप्रति वितृष्णा पैदा हुँदै गएकोले अपहेलित भावना सृजना भएका कारण दिनानुदिन लोप हुँदै गइरहेको नेवार समुदायका अग्रजहरु बताउँछन् । ‘लाखेजात्रा उत्थान गर्ने युवाहरु पर्याप्त नभएकाले दिनदिनै लोप हुँदै गइरहेको छ’, स्थानीय नविन प्रधानले बताउनुभयो ।
संरक्षण, संवर्द्धन गर्नुपर्ने खालका उर्जाशील युवाहरु विदेशिने, पढाइका सिलसिलामा जिल्लाबाट बाहिर जानुपर्ने भएकाले थप संकटमा परिरहेको उनीहरु बताउँछन् । पछिल्लो पिँढीले संस्कार संस्कृतिको साटो व्यापार व्यवसायप्रति बढी आस्था राख्ने भएका कारण लोप हुँदै गएको अर्का स्थानीय ध्रुवलाल श्रेष्ठले बताउनुभयो ।
‘युवाशक्ति पढाइ र जागिरका लागि बाहिर जाने भएकाले जागरण गर्ने युवा शक्ति हुदैन । त्यही भएर सुनसान वातावरणमै लाखे सकिन्छ ’, उहाँले भन्नुभयो ।
राज्यले विशेष व्यवस्था गरेको खण्डमा लाखेजात्रा संरक्षण गर्न सकिने भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताउनुभयो ।
लोपोन्मुख लाखेका लागि जनजाति महासंघ भोजपुरले निरन्तरता भनिए पनि त्यसमा प्रतिनिधित्व गर्ने नेवार समुदायका प्रतिनिधिहरुको कमजोरीका कारण केही संरक्षणमा रहेको संस्कार समेत मेटिएर जान लागेको उनीहरुले बताए ।
संरक्षणका लागि प्रतिनिधित्व गर्ने नेवा प्रतिनिधिले बढी सक्रियता दिनुपर्ने बताए । लाखेनाचको बारेमा गाँउमा छरिएर रहेका नेवार समुदायले प्रशिक्षण गर्नुपर्ने तथा चेतनशील बनाउनुपर्ने उनीहरुकाे भनाइ थियाे ।
देशमा चलेको दशक लामो सशस्त्र द्वन्द्वले नेवार समुदायका मानिसहरु सुविधासम्पन्न शहरतिर पलायन भएका र गाउँमा भएका युवाहरुको कम चासोका कारण वर्षाेँदेखिको सांस्कृतिक पर्व लाखेजात्रा लोप हुँदै जान थालेको हाे ।
नेवार समुदायको धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध रहेको लाखे नाचबाट हुने ढोलको आवाजले गुन्जयमान भोजपुरका गाउँघर सुनसान बन्दै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।