सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योल...
मंसिर २४, २०८१ सोमबार
लामो समयको प्रयासपछि नेपालले पहिलो पटक 'सोभरेन क्रेडिट रेटिङ' अर्थात् साख मूल्याङ्कन सम्पन्न गराएको छ । अहिलेसम्म हाम्रो देशको रेटिङ नै थिएन । हामी रेटिङविनाको देश थियौँ । हाम्रो साखको मूल्याङ्कन नै भएको थिएन । हामी कुन अवस्थामा छौँ, नेपालमा लगानी गर्दा कस्तो किसिमको जोखिम हुन सक्छ भन्ने लगायतका कुराको कसैले पनि मूल्याङ्कन गरेको थिएन ।
यो मूल्याङ्कन गर्नका लागि नेपाल सरकारले धेरै अघिदेखि पहल गरेको थियो । हामी नतिजाको पर्खाइमा थियौँ । तर बीचमा कोरोना महामारी आयो । देशको अर्थतन्त्र खासै गतिलो भएन, सूचकहरू राम्रा थिएनन् । त्यस्तो असामान्य अवस्थामा रेटिङ गराउँदा राम्रो नतिजा नआउने भएकाले सरकारको आग्रहमा फिच एजेन्सीले रेटिङको काम केही समयका लागि रोकेको थियो । गएको वर्ष भने पुनः सरकारले यसलाई अघि बढाउन आग्रह गरेसँगै एजेन्सीको टोली नेपालमै आएर अध्ययन गरेपछि अहिले नतिजा आएको हो ।
नेपालका लागि अहिले दुई वटा कुरा सुखद भएका छन् । पहिलो कुरा त नेपालले पहिलो पटक सोभरेन क्रेटिड रेटिङ सम्पन्न गरायो । दोस्रो कुरा पहिलो रेटिङ मै नेपालले 'डबल बी माइनस' नतिजा प्राप्त गरेको छ ।
के हो त 'डबल बी माइनस' रेटिङ ?
सोभरेन क्रेडिट रेटिङमा 'ए', 'बी', 'सी' र 'डी' गरेर चार वटा रेटिङ हुन्छन् । 'डी' भनेको 'डिफल्ट' भएको अर्थात् निकै खराब हो । यसलाई खास रेटिङको मान्यतामा राखिन्न । 'सी' भनेको निकै धेरै जोखिम भएको रेटिङ हो । त्यसैगरी 'बी' रेटिङ भनेको केही हदसम्म जोखिम छ तर सुधारात्मक हिसाबले अघि बढेको अवस्था हो । अनि 'ए' भनेको एकदमै राम्रो हो, जहाँ अर्थतन्त्रदेखि सबै क्षेत्रका सूचक अब्बल भएको मानिन्छ ।
नेपालले पाएको डबल बी माइनस रेटिङ सन्तोषजनक हो । हामी एकदमै राम्रो अवस्थामा छैनौँ, हामीसँग भएको अर्थतन्त्रको सानो आकार, विदेशी मुद्राको स्रोत, सरकारको आय, व्यापार घाटा, वैदेशिक लगानीको अवस्था, राजनीतिक अस्थिरतालगायतका कारणले गर्दा हामी धेरै राम्रो अवस्थामा छैनौँ । तर डबल बी माइनस रेटिङ हाम्रा लागि विशेष छ । किनकि हाम्रा लागि यो पहिलो रेटिङ हो ।
यसले के बताएको छ भने छोटो समयका लागि नेपालमा लगानी गर्न एकदमै राम्रो गन्तव्य हो । छोटो समयको लगानीमा जोखिम कम छ तर लामो समयको लगानीका लागि भने विचार गर्नुपर्छ, केही समस्या आउन सक्छन् ।
यसको मतलब नेपालबाहिरका लगानीकर्ताहरूले अब नेपालमा लगानी गर्दाका जोखिम थाहा पाएका छन् । नेपालमा कस्तो लगानीमा कतिसम्म जोखिम हुन सक्छ भन्ने कुरा रेटिङले नै बोलेको छ । फलानो क्षेत्रमा नेपालको स्तर यस्तो छ है भनेर रेटिङले बोलेको छ/व्याख्या गरेको छ । समग्रमा भन्नुपर्दा पहिलो रेटिङलाई उत्साहजनक मान्न सकिन्छ ।
सरकारी ऋणपत्र र बैंकिङ क्षेत्रको लगानी भित्रन सहज
नेपालले डबल बी माइनस प्राप्त गरेपछि सबै क्षेत्रमा विदेशी लगानी ह्वारह्वार भित्रिन्छ जसरी बहस भइरहेका छन् । अनि रेटिङको बारेमा मैले अन्योलजस्तो देखेको छु ।
खासगरी देशहरूले दुई वटा रेटिङ गराउँछन् । ती हुन् – कन्ट्री रेटिङ र सोभरेन रेटिङ । अहिले नेपालले गराएको सोभरेन रेटिङ भएकाले यो रेटिङका आधारमा व्यावसायिक रूपमा विदेशी लगानी ओइरिने सम्भवाना कम हुन्छ ।
अहिले पनि नेपालमा जलविद्युत्, होटललगायतका क्षेत्रमा विदेशी लगानी आइरहेकै छ । यस्ता खालका विदेशी लगानीका लागि सोभरेन रेटिङ नै चाहिँदैन । कन्ट्री रेटिङ खास गरेर व्यापारिक क्षेत्रलाई लक्षित गरेर गरिन्छ ।
अहिले सरकारले प्राप्त गरेको सोभरेन क्रेडिट रेटिङले खासगरी नेपाल सरकारले विदेशी मुद्रामा जारी गर्ने 'बन्ड' अर्थात् ऋणपत्रमा विदेशी लगानी तथा बैंकले गर्ने लगानीको बाटो खोलेको छ । सहज बनाएको छ । अब नेपालबाहिरका लगानीकर्ताहरूले नेपाल सरकारको ऋणपत्रमा लगानी गर्न पाउँछन् । अहिले सरकारले विभिन्न देश र साझेदार संस्थाहरूबाट पाइरहेको भन्दा सस्तो ब्याजदरमा ऋणपत्रमार्फत लगानी भित्र्याउन सक्छ ।
विदेशीले नेपालको ऋणपत्रमा लगानी गर्नका लागि अहिले नेपालले पाएको डबल बी माइनस सोभरेन रेटिङ सन्तोषजनक हो । सरकारले जारी गरेका ऋणपत्र किन्नका लागि सोभरेन रेटिङ अनिवार्य जस्तै हो, विदेशीहरूले रेटिङ हेर्छन् नै । समग्रमा के भन्न सकिन्छ भने सोभरेन क्रेडिट रेटिङमा नेपालले पाएको रेटिङले सरकारी ऋणपत्रमा लगानी गर्ने विदेशीसँगै अरू व्यावसायिक लगानीकर्तालाई पनि राम्रो सन्देश दिएको छ ।
विश्वका लगभग सबैजसो देशले सोभरेन रेटिङ गराउँदा पनि नेपालको रेटिङ थिएन । रेटिङ नै नभएको देश भन्नु र डबल बी माइनस रेटिङ प्राप्त देश भन्नुले धेरै अर्थ राख्छ ।
नेपाललाई थप सुध्रने मौका
रेटिङको शुरुआत भएपछि नेपाललाई थप सुध्रने मौका प्राप्त हुन्छ । एक पटक रेटिङ प्राप्त गरेपछि सरकार चुप लागेर बस्ने कुरा आउँदैन । यसको मूल्याङ्कन भइरहन्छ । मूल्याङ्कन भइरहने हुनाले हामी सधैँ चनाखो भएर काम गर्नुपर्छ । हामीले सुधारका काम गरेनौँ भने अहिले पाएको रेटिङ घट्न पनि सक्छ । बढाउनका लागि सुधार गरेर मूल्याङ्कन गराइरहनुपर्छ । योभन्दा तल झर्न दिनु हुँदैन भनेर सरकार सधैँभरि चनाखो भइरहनुपर्छ । सरकारले अझ बढी सुधारका कदमहरू चाल्नुपर्छ । आफैंले गरेको रेटिङ अर्को पटक घट्यो भने राम्रो हुँदैन । त्यसैले सरकारले सुधारका प्रयास गर्ने र निजी क्षेत्रलाई पनि उत्साहित बनाउने अवसर सोभरेन क्रेडिट रेटिङले नेपाललाई प्रदान गरेको छ ।
(चार्टर्ड एकाउन्टेन्ट तथा पूँजी बजारका अनलराज भट्टराईसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बैंकिङ विज्ञ