इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - धरानकी बिनिसा लिम्बू बीपी राजमार्ग हुँदै सार्वजनिक बसमा काठमाण्डौ आउँदै हुनुहुन्थ्यो । झण्डै ९ घण्टाको यात्रामा बस तीनपटक रोकियोे । एक पटक खाना र दुई पटक खाजा खान ।
उहाँ तीनै पटक हतारहतार निस्केर शौचालय जानुभयो । बस चलिरहँदा उहाँले अरु दुई पटक रोक्न भन्नुभयो । तर चालकले आलटाल गरिरहे । एक पटक जंगलमा गाडी त रोकियो । तर उहाँभन्दा अघि नै बसमा रहेका पुरुष यात्रुहरु निस्केर भित्तातिर फर्किए । सबै पुरुष फर्किएपछि उहाँले पर झाडीमा गएर पिसाब गर्नुभयो । ‘गाडी चढेपछि खुट्टामा पोलेजस्तो लाग्यो, यसो हेर्दा त दुई वटा जुकाले टोक्न थालिसकेछन्’ उहाँले हाँस्दै भन्नुभयो ।
सार्वजनिक बसमा कञ्चनपुरबाट काँकडभिट्टा पुगेर फर्किएकी भीमदत्त नगरपालिकाकी राधा चापागाईंको भोगाइ पनि उस्तै छ । उमेरले पाँच दशक नाघिसकेकी चापागाईंलाई पनि बाटोमा पिसाबले च्यापेर दिनुसम्मको पिर दिएको छ । उहाँले भन्नुभयो ‘पिसाब चाँडो/चाँडो आउँछ । खाने ठाउँमा रोक्दा त शौचालय थियो, जंगलमा रोक्दा त आफू हिँड्न नसक्ने, अलि पर जान सकिनँ, छेउमा कसरी बस्नु र ? सबै त्यतै थिए, कति दुःख पाइयो/पाइयो ।’
सोलुखुम्बुबाट गाडीमा काठमाण्डौ आएकी सरिता राईको भोगाइ पनि उस्तै छ । उहाँ भन्नुुहुन्छ ‘झण्डै १० घण्टाको यात्रामा खाजा र खाना गरी दुई ठाउँ गाडी रोक्छ । अरुबेला पिसाब आयो भने हत्तपत्त रोक्दैन । रोकिहाल्दा पनि जंगल वा पाखामा हो । हामी महिला गाडी रोकेको नजिकै पिसाब गर्न सक्दैनौं, अलि पर झाडीमा जाँदा ज्यानै सुरक्षा गर्न गाह्रो हुन्छ ।’
उहाँले अघिल्लो पटकको यात्रा अनुभव सुनाउँदै भन्नुभयो ‘अस्तिको पालि त महिनावारी भएको बेला यति धेरै बिजोग भयो कि, बाटोमा प्याड फर्ने ठाउँ छैन, ब्लिडिङ भैरहेको छ, यस्तो पीडा त के भन्नु र कम्तीमा राजमार्गका दुई/चार ठाउँमा प्याड फेर्न र फ्याँक्न मिल्ने खालका शौचालय बनाइदिए हुने हुने नि ।’
बिनिसा, राधा र सरिता त प्रतिनिधि पात्र मात्र हुन् । यो व्यथा बसमा यात्रा गर्ने यात्रु, त्यसमा पनि महिलाको साझा समस्या हो ।
सामान्यतया: राजमार्गमा हरेक ३५/४० किलोमिटरको फरकमा सार्वजनिक शौचालय हुनुपर्छ । तर मान्छेको ज्यानसँग प्रत्यक्ष सम्बन्ध राख्ने ट्राफिक नियमको त बेवास्ता हुने ठाउँमा दिसापिसाबको समस्या प्राथमिकतामा परेकै छैन । राजमार्गमा सार्वजनिक शौचालयको सुविधा नहुँदा दिसापिसाब च्यापेरै यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रु पिसाबले च्यापेर कराइरहँदा पनि चालक नसुनेझैँ गरी गाडी कुदाइ रहन्छन् ।
चालकको पनि बाध्यता
यात्रुले पिसाब आयो भनेर कराउँदा पनि भनेको ठाउँमा गाडी रोक्न नसक्नु आफूहरुको पनि बाध्यता रहेको चालकहरु बताउँछन् । काँकडभिट्टा–महेन्द्रनगर बस चलाउने चालक निरञ्जन उराउ भन्नुहुन्छ, ‘बाटोमा शौचालय नै छैन, कहाँ रोक्नु र ? कतिपय ठाउँमा जंगल पनि आउँदैन, बस्तीमा रोक्न मिलेन । यात्रुको पीडा हामीलाई पनि थाहा हुन्छ । तर रोक्न नमिल्ने भएकोले चुपचाप गाडी चलाउनुपर्छ । हामी आफू पनि धेरैपटक पिसाब च्यापेरै गाडी चलाइरहेका हुन्छौं ।’
पाइखानकाे पीर-१
पाइखानाकाे पीर-२
केही राजमार्गमा सार्वजनिक शौचालय बनाउने क्रम बढेको त छ, तर यो पर्याप्त छैन । होटल तथा पेट्रोल पम्प विकल्प त हुन् । तर सबै ठाउँमा पेट्रोल भर्न र खाजा खान सम्भव नहुने चालकहरु बताउँछन् । बीपी राजमार्गमा गाडी चलाउने झापाका प्रदिप बस्नेत पाखा वा जंगल छेउमा गाडी रोक्नुको विकल्प नभएको बताउनुहुन्छ ।
बजार क्षेत्रमा होटल तथा पेट्रोल पम्पहरु भेटिए पनि पेट्रोल पम्पमा पेट्रोल नहाली रोक्न नमिल्ने चालकहरु बताउँछन् । होटलमा पनि खाजा खाने बेला नभई रोक्न मिल्दैन । पृथ्वी राजमार्गमा गाडी चलाउने नारायण केसी भन्नुहुन्छ, ‘जंगल क्षेत्रमा पनि समस्या हुन्छ, पुरुषलाई केही सहज भए पनि महिलालाई जंगलमा पनि निकै सास्ती हुन्छ ।’
अहिले पाखा तथा जंगलमा दिसापिसाबको लागि गाडी रोक्न पालिकाहरुले कडाइ गरेका छन् ।
खुल्ला दिशामुक्त अभियान र राजमार्गमा शौचालय
काँकडभिट्टा–महेन्द्रनगर बस चलाउने चालक निरञ्जन उराउले सडक छेउको जंगलमा गाडी रोकेबापत एक हजार रुपैयाँ जरिबाना तिर्नुभएको छ । ‘पिसाबले च्याप्यो भनेर यात्रुहरु कराए, जंगलमा छेउ लगाएर रोक्दा नगरपालिकाका मान्छे आएर जरिबाना तिराइहाले, खुल्ला दिसामुक्त क्षेत्र भन्ने थाहा छैन, बोर्ड हेरेको छैन भन्दै गाली पनि गरे, चुपचाप जरिबाना तिरेर बाटो लागें’, उहाँले भन्नुभयो ।
बीपी राजमार्गमा गाडी चलाउने प्रदिप बस्नेत पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान पछि बाटोमा गाडी रोक्न समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटोमा पर्ने सबैजसो ठाउँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेका छन् ।
त्यसैले पाखा जंगलमा रोक्न पनि डर हुन्छ । तर चाहिने ठाउँमा सार्वजनिक शौचालय नै छैन त कहाँ रोक्नु ? फोहोर हुन्छ भन्ने त हामीलाई पनि थाहा छ, तर बाध्यताले रोक्नुपरेको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दा बाटोमा यात्रा गर्नेलाई पनि दिसापिसाब आउँछ भन्ने बुझ्नुपर्ने हैन र ?’
राजमार्ग छेउमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । पाखा र जंगलमा पालिकाहरुले कडाइ गरेका छन् । खुल्ला ठाउँमा दिसापिसाब गर्न पाउनुपर्छ भन्ने हैन । गर्नु हुँदैन । तर यात्रामा रहेकाहरुलाई आपत पर्ने र यसअघि विकल्पको रुपमा प्रयोग गरिरहेको ठाउँलाई सम्बन्धित पालिकाले अर्को विकल्प दिएर मात्र रोक्नुपर्ने चालक तथा यात्रुहरु बताउँछन् ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्रकुमार झा खुल्ला दिसामुक्त क्षेत्र अभियान सफल बनाएका पालिकाहरुले आवश्यक ठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्ने बताउनुहुन्छ । राजमार्गले छोएका पालिकाहरुले यसको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ ।
खुल्ला दिसामुक्त अभियानसँगै धादिङ, चितवनलगायत जिल्लामा पर्ने राजमार्ग छेउमा केही सार्वजनिक शौचालय बनेका छन् । खुला ठाउँमा दिसापिसाब गर्ने क्रम कम भएको छ । सार्वजनिक शौचालय या होटल भएको ठाउँमा गाडी रोकिन्छ । कतिपय ठाउँमा होटल या सार्वजनिक शौचालय नहुँदा जंगल वा पाखामा गाडी छेउ लगाउनु चालकको बाध्यता हो ।
अहिले लामो दूरीका केही बसमा शौचालयको पनि सुविधा छ । लामो समय पिसाब रोक्न नसक्नेहरुले केही बढि भाडा तिरेरै भए पनि यस्ता बसमा यात्रा गर्ने गरेका छन् । लामो दूरीमा चल्ने बसका व्यवसायीहरुले कम्तीमा पिसाब फेर्न मिल्ने शौचालय बनाउन सक्छन् । र गाडीभित्र त्यस्तो सुविधा दिनेलाई सरकारले करमा छुट लगायत सुविधा दिन सक्छ ।
सुन्दा सानो, तर भोग्नेलाई ठूलो समस्या
दैनिक हजारौं यात्रुले समस्या भोगिरहेका छन् । मिर्गौला, पिसाबथैलीमा संक्रमणकाे समस्या भएका यात्रुले दिसापिसाब लागेपछि लामो समय रोक्न सक्दैनन् । पिसाब लाग्नेबित्तिकै गर्न पाएनन् भने संक्रमण बढेर उनीहरुको ज्यानै जोखिम हुन्छ ।
स्वस्थ मानिसले पनि धेरैबेर पिसाब रोक्न सक्दैनन् । यो समस्या समाधानको बाटो खोजिनुपर्छ ।
सडकको अवस्था अनुसार ३५/४० किलोमिटरको फरकमा सार्वजनिक शौचालय बनाउनु पर्छ । शुल्क लिएरै भए पनि शौचालय व्यवस्थापन गर्न सकिन्छ । एउटा यात्रामा २०/३० रुपैयाँ तिर्नु पिसाब रोक्नुभन्दा सजिलो हो । यो काम सम्बन्धित पालिकाहरुले नै गर्नुपर्छ । यो गर्नै नसक्ने र बेकामे काम होइन ।
सार्वजनिक यातायात सञ्चालकहरुले पनि ठाउँठाउँमा पिसाब गर्नको लागि गाडी रोक्ने व्यवस्था गर्नुपर्छ । एक दिनको यात्रामा खाजा र चिया खाने ठाउँ बाहेक थोरैमा चार ठाउँमा मात्र गाडी रोकियो भने पनि महिला, बालबालिका लगायत यात्रुलाई ठूलो राहत पुग्छ ।
चार ठाउँमा पाँच मिनेटका दरले गाडी रोक्दा २० मिनेट ढिला हुन्छ । गन्तव्यमा २० मिनेट ढिला पुग्नुभन्दा धेरै गुणा बढी समस्या पिसाब रोक्दा हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।