गैंडा उपहार: ‘रुपसी’ र ‘भद्र’ पछि ‘सोल्टी’ र ‘मितिनी’को पालो

 साउन १०, २०७५ बिहीबार १८:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – नेपाल सरकारले चीन सरकारलाई गैंडाका केटा केटी भद्र र रुपसी पठाएपछि अब सोल्टी र मितिनीको पालो आएको छ ।

चीनलाई उपहार दिन लागिएको अर्को जोडी गैंडाको केटाकेटीको पनि नामाकरण भएको  चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएका गैंडाका केटाको नाम सोल्टी र केटीको नाम मितिनी राखिएको छ । 

सौराहामा रहेको भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको बताउदै उहाँले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा जानकारी प्राप्त भएको जानकारी दिनुभयो । 

चीन पठाउनका लागि निकुञ्जवाट नियन्त्रणमा लिएर चारवटा गैंडा सौराहामा राखिएको थियो । चारमध्ये दुईवटा गैंडा चीन पठाइसकिएको छ । 

‘रुपसी र भद्र’ गएको चैत २८ गते चीनलाई उपहार दिइएको थियो ।  रुपसी र भद्रलाई चीनको चिमेलङ सफारी पार्कमा राखिएको छ । 

सौराहामा रहेको गैंडालाई चीन लैजाने मिति तय नभएपनि ती गैंडाको उच्च सुरक्षाका साथ हेरदेख भइरहेको अर्यालले जानकारी दिनुभयो ।

सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’मा ती दुई वटा गैंडा राखिएका छन् । 

साउन अन्तिमभित्रमा चिन पठाउने गरी तयारी भइरहेको जानकारी पाएको बताउँदै अर्यालले पशु प्राबिधिक र वन्यजन्तु प्राविधिकले गैंडाको हेरचाह गरिरहेको जानकारी दिनुभयो ।
 
‘मितिनी’ नाम राखिएको पोथीलाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिइएको थियो । 

‘सोल्टी’ नाम राखिएको भाले केटोलाई अघिल्लो वर्ष आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइ सौराहामा राखिएको हो ।
एक सिंगे गैंडाकालागि चितवन निकुञ्ज प्रख्यात रहेको छ ।  

पछिल्लो गणनामा चितवन निकुञ्जमा मात्र ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ रहेको छ । नेपालको तर्फवाट गैडा उपहार दिनेक्रम यस अघि पनि रहेको थियो । 

भारतलाई ४ वटा  अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको तथ्याँक निकुञ्जसँग छ ।

जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई वटाका दरले १० गैंडा उपहार दिइएको तथ्याँक छ । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई वटाका दरले ६ गैंडा पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । 

नेपाल सरकारले अहिलेसम्म विभिन्न १० वटा देशलाई २८ गैंडा उपहार दिइसकेको निकुञ्जको तथ्याँकमा रहेको छ  ।


 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया