अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट मा फ्रेन्ड्स क्लब डडेलधुराले विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले हरायाे ।
धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य डडेलधुराले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । डडेलधुराका कुशल भुर्तेलले नटआउट ८७, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । धनगढीका अमित श्रेष्ठले ३२ रन बनाए । डडेलधुराका राहुल लुनियाले ३ विकेट लिए ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । समूह ‘ए’ मा धनगढी, डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोस्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् । अर्जुन ट्रफीको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।