कांग्रेस नउठेको भए डाक्टर केसी सुतेको सुत्यै हुनुहुन्थ्यो : गगन थापा

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेस

 साउन ११, २०७५ शुक्रबार १६:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयकमाथि सांसद गगनकुमार थापा, प्रेम सुवाल र सरिता गिरीको विरोधको सूचना परेका थिए । 

विरोधको सूचनाको प्रस्तावका बारेमा बोल्दै नेपाली कांग्रेसका सासंद गगन थापाले  कांग्रेसको सदन संघर्षका कारण डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकार बाध्य भएको बताउनुभयो । निरन्तरको संसद बैठक अवरुद्धसँगै सडकमा बढ्दै गएको सरकार विरोधी आवाजपछि अन्ततः सरकारले डाक्टर केसीका माग सम्बोधन गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही माननीय सदस्यहरुले प्रश्न गर्नुभएको थियो संसदको बैठकमा कांग्रेस किन उठिरहेको ? मैले उहाँहरुलाई भने कांग्रेस नउठेको भए डा.गोविन्द केसी सुतेको सुत्यै हनुहुन्थ्यो  भनेर । नेपाली कांग्रेस उठेको उठ्यै गर्यो र आज सरकार गोविन्द केसीलाई उठाउन बाध्य भएको छ ।’
नेकपाको संसदीय दलको बैठकमा नेताहरुले कांग्रेसले सहमति भाँड्ने कोसिस गरेको अभिव्यक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,

‘योबीचमा पटक पटक माननीय शेरबहादुर देउवाले मलाई भन्नुभएको म सम्झन्छु,  सरकारलाई सहमतिमा पुग्नको लागि मद्धत गरौँ, गोविन्द केसीको जीवन रक्षाको कुरा महत्वपूर्ण छ । डा.गोविन्द केसीको तर्फ वार्तामा जाने साथीहरुलाई विधेयक फिर्ता नलिने बेलासम्म वार्ता हुँदैन भन्ने ठाँउबाट यो विधेयक फिर्ता लिने प्रसंग तपाईले उठाउनुभयो भने यो कहिले समझदारीमा पुग्दैन । सरकारको पनि प्रतिष्ठा छ, संसदको पनि मर्यादा छ, त्यसैले विधेयक फिर्ता लिने कुरा छोडिदिनुस् ।  सरकारले प्रस्तुत गरेको विधेयकको कन्टेन्टमा छलफल गर्नुस् र सम्झौतामा पुग्नुस भनेर पहिलो पटक भन्ने मान्छे हुँ म । र सम्माननीय प्रधानमन्त्री कन्टेन्टमा तयार हुनुहुन्छ भने प्रधानमन्त्रीलाई ट्रस्ट गर्नुहोस् प्रक्रियाको बारेमा मिलाउन सकिन्छ भनेर भन्ने मान्छे हुँ म ।’

प्रतिनिधिसभाको अर्को बैठक आउँदो अाइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसैबीच, संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सहमति संसदमा टेबल भएपछि आफूहरुले दोश्रो बैठक संचालन गर्न दिएको प्रतिक्रिया दिनुभयो ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर केसी संग गरिएका सहमतिलाई  मन्त्रिपरिषद् बैठकमार्फत अघि बढाई संसदीय प्रक्रियामा प्रवेश गराएर विधेयकमा समावेश गरिने बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि सरकारले डाक्टर केसीसँग गरेका सहमतिका बुँदाका आधारमा विधेयकमाथि संसोधन प्रस्ताव दर्ता गराउने छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mukunda

    July 28, 2018, 4:16 p.m.

    लु भो नखोकम , तिम्रा पालामा पनि डा केसी अनसन बस्नु भएकै हो , तर डा केसी अनसनको क्रेडिट लिन यसरी श्याल झुम्मिन किन हतार गरेको गगन ब्रो .अलि गलत बोल्नु भो कि ? भरे राती सुत्ने बेला छातीमा हात राखेर केहि बेर चिन्तन गर्न मेरो हार्दिक अनुरोध छ , किनभने म तपाईको भोटर पनि हुँ/

  •  0 Reply

तपाईको प्रतिक्रिया