तोकिएको कार्यक्षेत्रमा जान चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीकाे निर्देशन

 साउन १२, २०७५ शनिबार १५:३९:१० | उज्यालो सहकर्मी

काठमाडाैं - उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई कडा निर्देशन दिनु भएको छ । 

उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु कार्य क्षेत्रमा नजाने गरेको उल्लेख गर्दै सबैलाई आ– आफ्नो कार्य क्षेत्रमा जान सचेत गराउनु भएको हो । 

उहाँले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर काम गर्न पनि निर्देशन दिनुभयो ।

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आइरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराउनुभएको हो ।

वीर अस्पतालको १ सय २९ औं वार्षिकोत्सवको अवसरमा उहाँले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढनुपर्नेमा पनि जोड दिनुभयो । 

उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौंधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराउनु भयो । 

उहाँले वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिनुभयो ।

मुलुकको सबैभन्दा जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले सर्वसाधारणको थप उपचारका लागि छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धि विशेषज्ञ सेवा पनि सुरु गरेको छ ।

अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणको कामलाई तीव्रता दिएको पनि अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

अस्पतालले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रियालाई पनि अघि बढाइएको दावी गरेको छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया