नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
विभिन्न कामका लागि विदेशमा रहनुभएका नेपालीहरुलाई विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीको अवस्थामा जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रुपमा बस्नुहोला ।
कोरोनाको माहामारीका बेला परदेशमा एक्लै बस्नुपर्दा, त्यसमाथि विभिन्न समस्याले झेल्दा तपाईँ धेरैलाई घर आउन मन लागेको छ । रोगव्याधी जे लागे पनि आफ्नै गाउँठाउँमा, परिवारको साथमा हुन पाए हुन्थ्यो भन्ने छ ।
धेरैलाई हामी परदेशमा भोकभोकै हुँदा पनि सरकारले किन देश फर्कन नदिएको भन्ने लागेको पनि होला । तपाईँहरुले यो बेला यस्ता भावना लिएर दुःखी र कमजोर हुनुभन्दा पनि आत्मवश्वास बलियो बनाउने र समस्या समाधानका लाग्नुपर्छ । सरकारका तर्फबाट पनि आवश्यक प्रयासहरु भएका छन् । दूतावासमार्फत र कुटनीतिक रुपमा सबै संयन्त्र क्रियाशील छन् ।
अहिले काम छैन, गोजीको पैसा सकियो, के खाने, के गर्ने भन्ने धेरैको गुनासो छ । मलाई लाग्छ, धेरै कम्पनीहरुले काम नभए पनि खानबस्नको व्यवस्था गरेका छन् । अहिलेलाई स्वास्थ्य नै धन हो । स्वस्थ हुन सक्यो भने भोलि जे गरेर पनि खान सकिन्छ । त्यसैले नआत्तिनुहोस् ।
अलपत्र भएको, कामबाट निकालिएको, खानबस्न नपाइरहेको अवस्था छ भने सम्बन्धित देशको दूतावासमा सम्पर्क गर्नुहोला । यस्तै गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले पनि विभिन्न सहयोग गर्दै आएको छ, त्यहाँ सम्पर्क गर्नुहोला ।
अरु विभिन्न नेपाली समुदायले पनि योबेला समस्यामा पर्नेलाई दूतावासको सम्पर्कमा ल्याउनका लागि पहल गरिरहेका छन् । उहाँहरुको मार्फत पनि तपाईँहरु दूतावासको सम्पर्कमा आउन सक्नुहुन्छ । लकडाउनको बेलामा पनि न्यूनतम पारिश्रमिक र खाना बस्ने व्यवस्था गर्नको लागि दूतावासले आवश्यक पहल गरिरहेको छ ।
कसैलाई लकडाउन भन्दा अघिको अवस्थामा जस्तो नहुन सक्छ, तर तलब नै नपाइने भन्ने अवस्था आउन दिने छैनौं । यस्तो व्यवस्था सम्बन्धित रोजगारदाताले गर्नुपर्छ भनेर हामी लागिरहेका छौं ।
यो विषयलाई नेपाल सरकार र दूतावासले गम्भिरतापूर्वक लिइरहेको छ । यो हाम्रो पहिलो प्राथमिकताको विषय हो । अहिलेसम्म कसैले तलब नै नपाएको भन्ने औपचारिक खबर हामीले सुनेको छैन ।
कम्पनीले लकडाउनको बेला पनि कामदारलाई न्यूनतम तलब दिने भनेर गरेका निर्णय पनि दूतावासलाई प्राप्त भइरहेका छन् । तसर्थ अहिलेलाई पहिलेकै अवस्थामा सुखदुःख जे छ, त्यही अवस्थामा बसिदिन हुन आग्रह गर्छौं । लकडाउन खुलेपछि सरकारले उपयुक्त तवरले आवश्यक व्यवस्था मिलाउन उच्चस्तरमा समेत समन्वय र गृहकार्य गरिरहेको छ । नआत्तिनुहोला, खाना बस्न नै समस्या छ भने तत्कालै नेपाली दूतावासमा सम्पर्क गर्न सक्नु हुन्छ ।
यो बेला परदेशमा हुनेले भिसा र कार्य सम्झौताको ख्याल गर्नुहोला । नवीकरण गर्नुपर्ने छ भने लकडाउन खुलिसकेपछि नेपाली कामदारको हितमा उपयुक्त व्यवस्था गर्छौं, तपाईंहरु ढुक्क भएर बस्दा हुन्छ ।
भिजिट भिसामा गएर भिसाको म्याद सकिएको पनि अवस्था होला । समस्यामा परेका हरेक नेपाली नागिरकलाई उद्धार गर्ने दायित्व पनि सरकारको नै हो । तर अहिले सबै देशमा लकडाउन र कतै कफ्र्यु पनि छ ।
यस्तोमा दूतावासले पनि तपाईंलाई गाडी चढेर वा जहाज चढेर आफ्नोमा आइहाल भन्न सक्ने अवस्था हुँदैन । जो जस्तो अवस्थामा भए पनि जो जहाँ हुनु हुन्छ, त्यहीँ बस्नुको विकल्प छैन । तपाईं आत्तिनु पर्दैन, सरकार छ भन्ने बुझिदिनुहोला ।
यस्तै कतिपय काम गर्ने कम्पनीले भिसा रद्द गरिदिएको गुनासो पनि छ । उहाँहरुलाई अब फर्किन पाइन्छ कि पाईंदैन भन्ने डर हुन सक्छ । तर डराउनु पर्दैन । तपाईंहरु फर्किन पाउनुहुन्छ ।
यद्यपि केही समय धैर्यता राख्नुस् । तर कुनै पनि कम्पनी सञ्चालकले काम मात्र रोकिएको कारणले भिसा रद्द नगर्न सक्छ । अरु नै कारणहरु होलान् । यदि भिसा नै रद्द भएमा पनि तपाईंलाई नेपाल फर्किनको लागि नेपाल सरकारले उपयुक्त उपाय अपनाउनेछ । लकडाउन खुल्ने बेलासम्म प्रतिक्षा गर्नुहोला ।
कतिपय ठाउँमा कम्पनी बन्द नभएको र काममा जाँदाआँउदा नै कोरोना सङ्क्रमण हुने जोखिम हुन्छ । यस्तो बेला दूतावासले के सहयोग गर्छ भन्ने धेरैको जिज्ञासा हुन्छ ।
यस प्रश्नको सन्दर्भमा कतिपय कम्पनी अत्यावश्यक सेवाका कम्पनी पनि हुन्छन्, जुन लकडाउनको बेला पनि सञ्चालन भइरहेका छन् । तर अत्यावश्यक सेवामा काम गर्दा यस अवस्थामा आफूले सावधानी अपनाउनुपर्छ ।
यस्तो अवस्थामा दूतावासले नै सहयोग गर्छ । दूतावासभन्दा बाहिरको काम भएमा परराष्ट्र मन्त्रालयले र श्रम मन्त्रालयले पनि सहयोग गर्छ । हामीलाई भन्नुहोस् । तपाईंले आफ्नो तर्फबाट गर्न सकिने आधारभूत व्यक्तिगत सरसफाइका कुरालाई ध्यान दिनुहोला । बाहिर तथा सङ्क्रमित भएका ठाउँबाट आएका व्यक्तिसँग टाढा बस्नुहोला ।
हाल विदेशमा रहेका नेपालीहरु के कामको लागि गएका हुन् र अहिले कस्तो अवस्थामा छन् भनेर आधिकारिक विवरण दूतावासरनियोग मार्फत संकलन गरिरहेका छौं ।
भिसा सकिएको, सम्झौता नवीकरण नभएको अवस्था पनि होला । तर यस्तो बेला भिसाको म्याद सकिएकाहरुको दण्ड जरिबाना मिनाहा गर्ने भनेर धेरै देशहरुले भनिसकेका छन् । गर्छन् पनि । यस्तै नवीकरण नभएको भनेर चिन्ता लिइरहनु पर्दैन ।
कतिपय देशमा बेतलबी बिदामा स्वदेश फर्किन पाउने प्रावधान पनि घोषणा गरिसकेका छन् । दूतावासले जारी गर्ने सूचना हेर्ने गर्नुहोला ।
अहिले कोरोनाको जोखिमबाट बच्न जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नु नै एक मात्र उत्तम उपाय हो । दूतावासले चाहँदैमा वा तपाईँलाई म आफैं जान्छु भन्ने लागेर हुँदैन ।
नेपालले मात्र हैन, तपाईँले काम गर्ने देशले पनि अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । कतिपयले यस्तो बेला जोखिम मोलेर काम गर्नुपर्यो म नेपाल नै आउँछु, सामान्य स्वास्थ्य सुरक्षा पनि कम्पनीले उपलब्ध गराएन भन्नुभएको छ । पक्कै पनि यस्तोमा आवश्यक सुरक्षाका साधनहरु सम्बन्धित कम्पनीले नै उपलब्ध गराउनुपर्छ ।
अहिले तत्काललाई आफैंले मास्कको व्यवस्था गर्दा पनि हुन्छ । व्यक्तिगत सावधानी आफैले अपनाऔं । कतिपयले काम पाइएन र हप्तामा तीन दिन मात्र काम हुन लाग्यो, रोजगारी गुम्छ कि भन्ने प्रश्न गरेका छन् ।
यस्तो महामारीको अवस्थामा, विश्वमा आर्थिक मन्दी भइरहेको अवस्थामा काम गुम्ने सम्भावना पनि हुन्छ । आधा काम भए पनि पाउनुभएको छ भने पनि गर्नुहोस् । काम छाडेर कोठामै बस्नुभन्दा पाएको काम गरिरहनुहोस् । श्रम कानुनमा भएको व्यवस्था पनि यही हो ।
जब कम्पनीको आर्थिक अवस्था बलियो हुन्छ अनि काम पनि बढाउँछ, हाललाई यो स्वभाविक प्रक्रिया हो भनेर बुझ्न म अनुरोध गर्न चाहन्छु । यस्तै कतिपय नेपालीहरु खाडी देशमा ट्याक्सी चलाउनुहुन्छ ।
यो लकडाउनले आफ्नो काम नै गुम्यो भनेर दुखेसो पोखिरहनुभएको छ । तर यो समस्या सीमित समयको लागि मात्र हो भनेर बुझ्नुपर्छ । यदि खाने बस्नै नै समस्या छ भने दूतावासमा सोध्न सक्नुहुन्छ ।
अहिले तपाईँलाई चाहिने सहयोग उपलब्ध गराउन दूतावास तयारी अवस्थामा छ । तर कहिलेकाहीँ एकैपटक धेरै फोनहरु आउँदा, प्रत्येक व्यक्तिको समस्या सुनुवाईमा केही कठिनाई हुन सक्छ । त्यस कारणले अत्यावश्यक कामका लागि मात्र दूतावासमा सम्पर्क गर्नुहोस् । अनलाइनमार्फत, इमेलमार्फत, वा अन्य तवरबाट पनि सुचनाहरु पढन वा सम्पर्क गर्न सक्नुहुन्छ ।
लाखौं श्रमिक रहेको ठाउँमा सीमित संख्यामा कर्मचारी भएको दूतावासले कहिलेकाहीँ तपाईँको गुनासो नसुनेको भन्ने तपाईँलाई लागेको हुनसक्छ । तर दूतावासले तपाईँहरुलाई त्यहाँ पर्ने समस्या समाधानका लागि हरदम प्रयास गर्छ ।
तपाईँहरुलाई कुन प्रकारको, कस्तो सहयोग चाहिएको हो, तपाईंले दूतावाससँग स्पष्टसँग अनुरोध गर्नुहोला । यो आरोप प्रत्यारोप गर्ने समय होइन । एकले अर्कालाई सहयोग गर्ने समय हो ।
महामारीका कारणले साना र मझौला कम्पनीलाई धेरै प्रभाव पारेको छ । यस्तो अवस्थामा मलेसिया सरकार र अन्य देशका सरकारले यस्ता कम्पनीलाई विशेष सहयोग गर्ने घोषणा गरेका छन् । तसर्थ त्यस सहयोगबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई पनि राहत पुग्नेछ । हामीले पनि उनीहरुलाई न्यूनतम ज्याला पाउनुपर्छ भनेर गम्भिरतापुर्वक अन्तर्राष्ट्रिय तहमा कुरा उठाइरहेका छौं । पक्कै पनि केही न केही समाधान निस्कनेछ ।
कोरोनाले संसारभरी नै प्रभाव पारेको छ । अब स्थिती सामान्य भएपछि नेपाल आउनेका लागि स्वदेशमा के कस्ता रोजगारी सिर्जना गर्न सक्छौं भनेर हामीले आवश्यक गृहकार्य गरिरहेका छौं । बेरोजगारलाई कुनै न कुनै तवरले अब आउने बजेटमार्फत न्यूनतम रोजगारीमा जोड्ने हिसाबले कार्यक्रम तर्जुमा गर्ने प्रयासमा छौं ।
श्रम शक्तिलाई स्वदेशमै उत्पादनशील काममा लगाउने उद्देश्यमा हामी केन्द्रित छौं । विशेष गरी विदेशमा रहनुभएका साथीहरुले अहिले जुन काम गरिरहनुभएको छ, यहाँ आएर फरक काम पनि गर्नुपर्ने हुनसक्छ। त्यसको लागि तयार रहनुहोला ।
यस्तै कोही स्वरोजगार बन्ने, आफ्नै व्यवसाय गर्ने पनि सोच्नुभएको होला । उहाँहरुको लागि सरकारले सुलभ रुपमा ऋणको व्यवस्था गरिदिनेछ । अहिलेसम्म कानूनी रुपमा विदेशमा रहनुभएका नेपाली श्रमिकहरुलाई खासै ठूलो समस्या परेको देखिंदैन । अनौपचारिक तरिकाले जानु भएकाहरुलाई समस्या परेको हुन सक्छ ।
त्यसका लागि विशेष गरी खाडी देशका सरकारले त्यो देशबाट नाम दर्ता गरेमा भिसा प्राप्त गर्नको लागि अथवा लकडाउन खुलेपछि नेपाल फर्किनको लागि उपयुक्त निर्णय गर्ने पनि कुरा गर्नुभएको छ । धैर्य गर्नुहोस् । सुरक्षित रहनुहोस् । तपाईँका समास्या समाधानका लागि सरकारले निरन्तर र सबै पहल गरिरहेको छ ।
(परदेशबाट तपाईँले सोध्नुभएका प्रश्नमा प्रवक्ता घिमिरेले दिनुभएकाे जवाफमा आधारित । उहाँसँगको यो कुराकानी रेडियो कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता हुनुहुन्छ ।
पूर्ण
April 14, 2020, 10:15 p.m.बग्वास कम्पनीले खाना दिँदैन काम नगरी तलब पनि दिँदैन कसले भन्यो कम्पनीले दिन्छ भनी?????????????????¿?? पिउने पानी त दिँदैन खाना र तलब को कुरा त धेरै टाढा को कुरा हो