नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - झण्डै पौने ३ महिनाको लकडाउनपछि नयाँ मोडालिटी सुरु भएको छ । दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गरिएको हो । लकडाउन खुकुलो भयो भन्दैमा अब हामीसँग कुनै चुनौती नै छैन भनेर बुझ्नु हुँदैन । सामाजिक दूरीलाई पनि हामीले त्यत्तिकै ध्यान दिनुपर्छ । भिडभाड हुने ठाउँमा अनावश्यक रुपमा सहभागी हुनुभएन । अनावश्यक रुपमा बाहिर जाने काम पनि नगरौँ । सरकारले जारी गरेका जति पनि नियमहरु छन्, त्यसको अक्षरशः पालना गरौँ ।
हामी अझै पनि कोरोना भाइरसको उच्च जोखिममा छौँ । हरेक दिन हाम्रा सङ्क्रमितहरु ३ सयदेखि ४ सयभन्दा धेरैको सङ्ख्यामा बढिरहेको अवस्था छ । कोरोना सङ्क्रमणको उच्च बिन्दुमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैले लकडाउनको समयमा सरकारले लगाएका नीति र नियमहरुलाई पालना गर्नुपर्छ ।
बजार जाँदा पनि सामाजिक दूरी कायम गरौँ । भिडभाडमा जाँदा मास्क प्रयोग गरौँ । घरभित्र प्रवेश गर्दा अथवा कार्यालय जाँदा पनि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्नेलगायतका सावधानी अपनाउनुपर्छ ।
अनावश्यक रुपमा अस्पताल नजाऔँ
अनावश्यक रुपमा अस्पताललगायतका स्वास्थ्य संस्था जाने काम नगरौँ । अति आवश्यक परेमात्रै अस्पताल जाने गरौँ । अस्पताल भनेको निकै जोखिम स्थल हो । त्यहाँ धेरै प्रकारका बिरामीको उपचार भइरहेको हुन्छ । धेरै स्वास्थ्यकर्मी त्यहाँ बसिरहेका हुन्छन् । त्यस्ता ठाउँमा कोरोनाको सङ्क्रमण बढ्ने उच्च सम्भावना रहेकोले आवश्यक पर्दा मात्रै अस्पताल तथा स्वास्थ्य संस्था जान उचित हुन्छ । सरकारले सबै प्रकारका नर्सिङ होम खोल्ने भनेको छ । फलोअपका लागि बोलाउनुपर्ने बिरामीहरुलाई पनि लामो समयपछि मात्रै फलोअप गर्नेगरी उपचार पद्धति अपनाउनुपर्छ ।
भिडभाड गरी गाडी नचलाऔँ
सरकारले जोर बिजोर प्रणालीअनुसार गाडी सञ्चालन गर्ने भनेको छ । गाडीहरुमा सङ्क्रमणको जोखिम अलि धेरै हुने गर्छ । गाडीमा आवत जावत गर्दा धेरै भिडभाड गर्न भएन । सरकारले तय गरेको नीतिअनुसार ४ पाङ्ग्रे गाडीमा ड्राइभरसहित ३ जनाभन्दा धेरै व्यक्ति राखेर यात्रा नगर्नु हुँदैन ।
मोटरसाइकलमा पनि १ जना मात्रै चढ्ने गर्नुपर्छ । सार्वजनिक गाडी अब बिस्तारै खोल्ने कुरा छ । त्यस्ता गाडीमा ५० प्रतिशत मात्रै यात्रु राख्ने गर्नुपर्छ । विशेष सावधानी अपनाएर हामीले गाडीमा यात्रा गर्नुपर्छ ।
भौतिक दूरी कायम गरौँ
बजार जाँदा हामीले सामाजिक या भनौँ भौतिक दूरी कायम गर्नुपर्छ । एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरी साढे १ मिटरभन्दा धेरै कायम गरौँ । अहिले पसलहरु पनि खुलेका छन् । पसलमा किन्ने र बेच्नेबीचको दूरी पनि कायम गर्नुपर्छ । मास्क लगाउने, सेनिटाइजर दल्ने र साबुन पानीले हात धुने गरेर मात्रै हुँदैन । भौतिक दूरी कायम गर्नु झनै महत्त्वको विषय हो । अर्को कुरा, प्रयोग गरिएका मास्कहरुमा सङ्क्रमण रहने सम्भावना भएकोले त्यसलाई सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ । प्रयोग गरिएका मास्कलगायत सामग्रीबाट सङ्क्रमण झन् बढ्ने खतरा हुने भएकोले यस विषयमा हामीले खेलाँची नगरौँ ।
लकडाउनबिना कोरोनासँगको लडाइँ
अहिलेको चुनौती भनेको लकडाउन नगरेर नै कोरोनासँग कसरी लड्न सकिन्छ भन्ने हो । कोरोना सङ्क्रमण १/२ हप्ता र १/२ महिनामा नै सकिने अवस्था छैन । किनभने रोगको प्रकृति नै धेरै लामो समयसम्म रहने खालको छ । धेरै लामो समयसम्म यो रोगसँगसँगै जानुपर्ने हुन सक्छ । तर सधैँभरि लकडाउन मात्रै गरेर पनि समस्याको समाधान हुनेवाला छैन । अब लकडाउनको स्वरुप परिवर्तन गर्दै जानुपर्छ । हामी सबैले आआफ्नो क्षेत्रबाट कोरोनासँग कसरी सँगसँगै जान सकिन्छ, हाम्रा व्यवहार कसरी परिवर्तन गर्न सकिन्छ भन्ने सोच्नुपर्छ । यी कुरामा विशेष ध्यान दिन सकियो भने कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ । सधैँभरि लकडाउन मात्रै गरेर समस्याको समाधान हुने होइन । यसको विकल्प खोज्दै जानुपर्छ ।
कार्यालयमा कम भिडभाड
स्वास्थ्य संस्थापछि सबैभन्दा धेरै भिडभाड हुने बैंक तथा वित्तीय संस्था र अरु कार्यालयहरु हुन् । कार्यालय सञ्चालन गर्न २ देखि ३ सिफ्टमा सञ्चालन गरौँ । धेरै भिडभाड नहुने उपाय अवलम्बन गरौँ । कामको प्रकृति हेरेर थोरै मात्र कर्मचारी बोलाउने गरौँ । सबै ग्राहकलाई एकै चोटी बोलाउनुभएन । कुन सेवा कति बजे खुल्ने भनेर तालिका बनाएर काम गर्नुपर्छ । गाडीहरु र होटल तथा खाद्य पदार्थ पाइने ठाउँहरुमा पनि हामीले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । तरकारीलगायतका अति आवश्यक सामग्री किन्ने ठाउँमा कतिको दूरी कायम भएको छ, हामीले त्यसमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।
घर फर्किएपछि के गर्ने ?
घरबाट बाहिर जाने क्रममा मास्क अनिवार्य रुपमा लगाएको हुनुपर्छ । घर फर्किने बित्तिकै साबुन पानीले हात धुनुपर्छ । किनेर ल्याइएका सामग्रीलाई सुरक्षित राख्नुपर्छ । तरकारीलगायतका सामग्रीलाई केही समय छुट्टै राखेर प्रयोग गर्ने गर्नुपर्छ । पानीले पखाल्न मिल्नेलाई पखाल्ने, सूर्यको प्रकाशमा राख्ने गर्नुपर्छ । निर्मलीकरण गर्न कसरी सकिन्छ । त्यस्ता विधि अपनाइयो भने सङ्क्रमण हुनबाट बच्न सकिन्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजभण्डारी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक हुनुहुन्छ ।