गृहमन्त्री थापाले सदनलाई दिए कञ्चनपुर घटनाको जानकारी

 साउन १७, २०७५ बिहीबार १५:३६:१९ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले कञ्चनपुरमा बालिकाको बलात्कार पछि हत्या भएको घटनाबारे सदनलाई जानकारी गराएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको घटनाबारे सदनलाई जानकारी दिनुभएको हो । 

परिवारले दिएको जाहेरीका आधारमा अपराधमा संकास्पद मानिएका कैलालीका २२ वर्षीय जीवन घर्ती मगर र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका –५, का १७ वर्षीय दिपक मेघीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।  उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलिले घटनाको अनुसन्धान गरिरहेको जानकारी पनि गराउनुभयो ।

कक्षा ९ मा अध्ययनरत पन्त विद्यालयबाट ट्युसन पढ्न गएको तर नफर्केको पारिवारिक जानकारीको आधारमा खोजतलास गर्दा साउन ११ गते बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको विरोधमा आफन्तले साउन ११ गते साँझ भएको प्रर्दशनमा शान्ति सुरक्षा बिग्रन नदिनका लागि प्रहरीबाट २२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी गृहमन्त्री थापाले दिनुभयो । उहाँले यस प्रकारका जघन्य अपराध प्रति सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्नुभयो । निर्वाध मदिरा सेवन र लागुऔषधको प्रयोगले  घरेलु हिंसा र यौन हिंसालाई बढाएको उहाँको भनाई थियो ।

उहाँले सांसद निरु पालमाथि भएको घटना भने राजनीतिक प्रकारको घटना भएको बताउनुभयो । राजनीतिक स्थिरता नचाहनेहरुले मुलुकमा आपराधिक क्रियाकलाप बढाइरहेको दाबी गृहमन्त्री थापाले गर्नुभयो । यथास्थितिवादीहरुले धार्मिक र साम्प्रदायिक द्वेष फैलाएर त्यसलाई अतिरञ्जित गरी मुलुकमा अस्थिरता फैलाउनका लागि ठूलो  कसरत गरिरहेको भन्दै उहाँले त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया