विदेशबाट आएकालाई ठगेको भन्दै यातायात व्यवसायीहरुले मागे भाडाको विवरण

 असार २१, २०७७ आइतबार १४:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र पालिकासम्म पुर्‍याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पुर्‍याउने कार्यको व्यवस्थापन गर्ने भने पनि विभागले आफूहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगाे भाडादरमा घर जान बाध्य पारेको बताउनुभयो । 

उहाँले होल्डिङ सेन्टरबाट विना टेण्डर, विना कोटेशन र विना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरीतको भाडा लिएर ठगी गरिएको बताउनुभयो । विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि आफूहरुले कुनै सूचना नपाएको रिजालले बताउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर गाडी उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गर्नुभयो । 

उहाँले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी गराइएको बताउनुभयो ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाइयो त्यसको सूचना आफूहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे । उनीहरुले गाडी उपलब्ध गराउने विषयमा आफूहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पष्ट हुने बताए ।  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया