सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती ...
मंसिर ११, २०८१ मंगलबार
इलाम– पढाइको सिँढी पाँच कक्षामै रोकिएपछि अस्मिता (परिवर्तित नाम) को दिनचर्या घर धन्दा र मेलापातमै बित्थ्यो । त्यसमा उहाँको मन कतिञ्जेल अडिन्थ्यो र ! उमेरसँगै महिना मरेपछि तलब आउने जागिरको रहर उहाँमा हुर्कंदै गयो । पढाइ न सीप, त्यस्तो जागिर कहाँ पाउने ! जब हजुरआमा पर्ने शिवमाया सेन्चुरीको कुरा सुन्नुभयो, उहाँको पखेटारूपी रहर फटफटाउन थालिहाल्यो ।
शिवमायाका कान्छा ज्वाइँ किसन बराइली सिक्किम, भारतको गान्तोकमा थिए । किसनले ससुराली आएका बेला सासू शिवमायासँग ‘एउटी केटी खोजिदिनुस्, गान्तोकमा काम मिलाइदिन्छु’ भनेका थिए । त्यही कुरा ४५ वर्षीया शिवमायाले २१ वर्षीया अस्मितालाई सुनाएकी थिइन् ।
किसनलाई अस्मिताले राम्रोसँग चिन्नु भएको थिएन, भिनाजु भनेर बोलाउनु हुन्थ्यो । २०७५ वैशाखमा ससुराली आएका बेला किसनले गान्तोकमा पाइने काम र तलबबारे बेलिविस्तार लगाए । शिवमायाले पनि राम्रै हुन्छ भनेर आश्वासन दिइन् । घरमा रहँदा सुको कमाइ नभइरहेका बेला महिनामा १० हजार तलब पाइने कुराले अस्मिता मख्खै पर्नु भयो । शिवमायाले ‘घरका मान्छेलाई नभन्नू, नत्र जानै दिन्नन्’ भनेर सम्झाइन् । हो न हो भनेर अस्मिताले घरमा कसैलाई सुइँको दिनु भएन ।
वैशाख ५ गते बेलुकी अस्मिता शिवमायाकहाँ बास बस्न जानु भयो । भोलिपल्ट झिसमिसे बिहानै माई नगरपालिकाको आफ्नो गाउँ छाड्नु भयो । त्यही दिन किसनसँग उहाँ बिर्तामोड हुँदै काँकडभिट्टा पुग्नु भयो । भारत छिर्ने नाकामा पुगेपछि किसनले ‘गाडीमा गए पुलिसले केरकार गर्छन् हिँडेरै जाउँ’ भनेकाले उहाँ फटाफट पैदल सीमापारि पुग्नु भयो । किसनले उहाँलाई गान्तोकमा रहेको आफ्नै घर पुर्याए । जागिरमा जाने दिन कुर्दाकुर्दै चार दिन बित्यो । पाँचौँ दिनको साँझ उहाँले सोध्नु भयो, ‘मेरो जागिर कहिले सुरु हुन्छ ?’ किसनले ‘भोलि जाने’ भनेपछि उहाँ फुरुङ्ग हुनु भयो । तर त्यो खुसी केही घण्टा पनि टिकेन । राति अस्मिता सुतेको कोठामा किसन लुसुक्क छिरे । उनको मुख थुने । धम्क्याए । बलात्कार गरे । रात उहाँले छटपटीमा काट्नु भयो । तर भागेर कतै जान सक्नु भएन ।
किसनले भोलिपल्ट उहाँलाई एउटा घरमा पुर्याए । बच्चा हेरालुको काममा लगाइदिएपछि उनी फर्के । काम थालेको सोह्रौँ दिनमा किसन आए र भने, ‘घरमा तिमीलाई खोजिरहेका छन् रे । आजै घर हिँड ।’ अस्मितालाई किसनले नै लगेको थाहा पाएपछि गाउँलेले शिवमायालाई र्याखर्याख्ती पारेका रहेछन् ।
घर फर्केपछि अस्मिताले आफू बेचिएको थाहा पाउनु भयो । बलात्कारको सिकार भएको पीडाले उहाँलाई पोलिरहेकै थियो । उहाँ गर्भवती पनि हुनु भएछ । दिन बित्दै जाँदा यो कुरा अरूले पनि चाल पाए । वचनको वाण, गाउँलेको खासखुस र अवहेलना सहँदै बस्नु भयो । नौ महिना नपुग्दै उहाँले २०७५ मङ्सिर २२ गते छोरो जन्माउनु भयो ।
जागिरको लोभमा सीमापारि पुर्याइएकी र यौन हिंसाको सिकारमा पर्नु भएकी अस्मिताको कथा इलामका निम्ति न पहिलो हो, न अन्तिम । अस्मिता त फर्केर आउनुभयो, तर सीमा कटाइएपछि खोजखबर केही नभएका किशोरी र महिला थुप्रै छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै एक सय ६५ जना हराएको उजुरी परेको थियो । तीमध्ये ९३ जना भेटिए, बाँकी ७२ जनाको अवस्था पत्तो छैन । यसअघि एक सय १७ महिला हराएकामा ५४ जना मात्रै फेला परेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि माघसम्ममा मात्र एक सय २८ जना हराएको उजुरी परेको थियो । जसमध्ये ९४ जना भेटिए । यो आर्थिक वर्षमा ८० जना महिला हराएकामा ५५ जना भेटिएका हुन् । इलाम प्रहरीमा हराएको भनेर खोजीका लागि निवेदन दिइएकामध्ये केही जिल्लाबाहिरका पनि छन् तर ती इलाममै डेरा गरेर बसेका बेला सम्पर्कविहीन बनेका हुन् ।
यस्तै इलामको पशुपतिनगरमा रहेको माइती नेपालको आवधिक गृहमा सन् २०१६ देखि २०१९ सम्म दुई सय सात जना हराएको भन्दै खोजीका लागि परिवारका सदस्यबाट निवेदन परेको थियो । तीमध्ये एक सय ५९ महिला तथा बालिकाको अझै अत्तोपत्तो छैन । माइती नेपालको आवधिक गृहमा झापा, मोरङलगायत जिल्लाबाट निवेदन परे पनि धेरै इलामकै छन् । आवधिक गृहका प्रमुख होम ढकालले यस अवधिमा भारत प्रवेश गर्न लागेका चार सय ८५ जनालाई नाकामा रोकेर परामर्श दिएको जानकारी दिनु भयो । ‘भारतको सिक्किम, दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका ठाउँमा पुगेर ३४ जनालाई उद्धार गर्याैँ’, उहाँले भन्नु भयो ।
सीमावर्ती जिल्ला इलामबाट भारत आउजाउ गर्ने मुख्य नाका पशुपतिनगर हो । तर दलालहरूले सीमा कटाउन चोरबाटोसमेत प्रयोग गर्छन् । झापाको काँकडभिट्टा पुर्याएर सीमा पार गराइएका घटना पनि छन् ।
१६ वर्षीया सुरक्षा (परिवर्तित नाम) भने छिट्टै खोजखबर हुँदा सीमा कटाइनबाट जोगिनु भयो । तर छोटो समयमा जुन स्थिति झेल्नु भयो, त्यसलाई उहाँ भुल्नै सक्नुहुन्न ।
देउमाई नगरपालिका, इलामकी उहाँ बिरामी दिदीको लागि औषधि किन्न नियमित रूपमा सदरमुकाम धाउनु हुन्थ्यो । २०७३ जेठ १६ गते भने सदरमुकाम जाँदा बाटैमा भेटिए मन्जेशकुमार दास । गाउँतिर घुम्दै कस्मेटिकका सामान बेच्ने धरानका मन्जेशसँग उहाँको पुरानै चिनजान थियो, बिक्रेता र ग्राहकका रूपमा ।
मन्जेशले सुरक्षालाई भने, ‘मेरो पनि उतै जाने काम छ । सँगै गएर फर्कौँला ।’ गफ गर्दै जाँदा साढे दुई घण्टाको बाटो काट्न सजिलो होला भनेर उहाँले मन्जेशको कुरा मान्नु भयो । औषधि किनिसकेपछि मन्जेशले थकाइ लागेको होला भन्दै रेडबुल पिउन दिए । रेडबुल पिएको एकैछिनमा उहाँलाई रिँगटा चल्यो । उहाँले मन्जेशलाई ‘मलाई गाह्रो भयो, घर पुर्याइदेऊ’ भन्नु भयो ।
तर मन्जेशले उहाँलाई उपचारको बहानामा जबर्जस्ती झापाको बिर्तामोड पुर्याए र एक लजमा राखे । अर्धचेत हुनु भएकी उहाँ केही बोल्न सक्नु भएन । भोलिपल्ट मन्जेशले उहाँको मोबाइल फोन खोसे र चर्को बोले जे पनि हुने भन्दै धम्क्याए । त्यसपछि एक रात धरानको र अर्को रात विराटनगरको लजमा राखे । पछिल्लो एक रात उहाँ बलात्कृत हुनु भयो ।
औषधि किन्न हिँड्नु भएको सुरक्षा नफर्केपछि अभिभावकले भोलिपल्टै हुलियासहित छोरी हराएको सूचना स्थानीय प्रहरीलाई दिए । यही सूचनाको आधारमा जेठ २४ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले मन्जेशलाई पक्राउ गर्याे सुरक्षाको उद्धार भयो । दार्जिलिङ जान भनी हिँडेका बेला प्रहरीले उनीहरूलाई भेटेको थियो ।
यो घटनापछि सुरक्षाको जिन्दगीको लय फेरियो । पढाइ छुट्यो । जबर्जस्ती करणीपछि पेटमा भ्रूण हुर्किरहेको थियो । समाजले कुरा काट्न थाल्यो । यी सबैबाट पार पाउन उहाँ माइती नेपाल पुग्नु भयो । त्यहाँ उहाँ आफूजस्ता किशोरीलाई बेचबिखनबाट जोगाउन स्वयंसेवकका रूपमा काम गरिरहनु भएको छ । पढाइलाई पनि निरन्तरता दिनु भयो । यसबीचमा उहाँले अनिच्छित गर्भ पनि पतन गराउनु भयो ।
सीमा नाकाबाट फर्काइएकी पात्र हुन्, पाँचथर फिदिमकी वन्दना (परिवर्तित नाम) । २०७५ भदौ २७ गते राँके बजारमा किनमेल गरेपछि घर फर्कन गाडी कुर्दै हुनुहुन्थ्यो । एउटा निजी गाडी उहाँ छेउ आएर घ्याच्च रोकियो । गाडीवालाले आफू पनि ताप्लेजुङ हिँडेको बताउँदै भाडा नलिने भनेपछि वन्दना दायाँ–बायाँ नसोची गाडी चढ्नु भयो । गाडीमा रहेका तीन जनामध्ये दार्जिलिङ, भारतका विवेक राईसँग उहाँको चिनजान भयो । मोबाइल नम्बर साटासाट भयो । घर फर्केकै दिन फोन संवाद सुरु भइहाल्यो । विवेकले उहाँलाई मन पराएको र माने अहिल्यै बिहे गर्ने भनेर प्रस्ताव राखे । वन्दनाको मन चुलबुल भयो । विवेकले विवाह गरेर दार्जिलिङ लाने बताउँदै पढाइदिने र सुखमा राख्ने सपना देखाए । अन्ततः वन्दना भागी बिहे गर्न तयार हुनु भयो ।
२९ गते विवेक उहाँलाई लिन आए । उनीहरू फिदिमबाट पशुपतिनगर हुँदै दार्जिलिङ जाँदै थिए । नाकामा प्रहरीले विवेकलाई सोधपुछ गर्याे । उनले शङ्कास्पद व्यवहार देखाएपछि प्रहरी निष्कर्षमा पुग्यो, बिहेको लोभमा बेचबिखन गर्ने योजना हो । विवेक पक्राउ परे । वन्दना घर फर्किइन् ।
प्रहरीले निगरानी र सरकारी तथा गैरसरकारी कार्यालय÷संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि अस्मिता, सुरक्षा र वन्दना जस्ता किशोरी/युवती दलालको फन्दामा परिरहेकै छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार २०६५/०६६ देखि अहिलेसम्म मानव बेचबिखनका २३ वटा घटना दर्ता भएका छन् । जसमा १६ बालिका र सात महिला पीडित छन् । प्रहरीका अनुसार पीडित बालिकाको उमेर १२ देखि १८ वर्ष देखिन्छ भने महिलाको उमेर २० देखि ३० वर्ष । मानव बेचबिखनका घटना २०७१/०७२ र २०७२/०७३ मा तीन–तीन वटा दर्ता भएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ६ वटा दर्ता भएका छन् ।
प्रहरीका अनुसार यी २३ घटनामा १८ पुरुष र १२ महिला पक्राउ परेका छन् । जसमध्ये धेरै पीडक पीडितका आफन्त र चिनेजानेकै देखिन्छन् । ‘३० पीडकमध्ये दुई जनाबाहेक सबै इलामका हुन्,’ जिप्रका इलामकी सइ मिलनकुमारी राईले भन्नु भयो । राईका अनुसार धैरैजसो पीडित कमजोर आर्थिक अवस्थाका छन् ।
भारतीय सीमावर्ती सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले अरूलाई छिट्टै विश्वास गरिहाल्ने बानीका कारण किशोरी/युवती फस्ने गरेको बताउनु भयो । माइती नेपालका अध्यक्ष विश्वराम खड्का गरिबी, अशिक्षालगायतका कारण ग्रामीण क्षेत्रका किशोरी/युवती बेचबिखनको दुष्चक्रमा पर्ने गरेको बताउनुहुन्छ । ‘पारिवारिक मेलमिलाप नभएका, अभिभावकबाट माया नपाएका, पढाइ बीचैमा छाडेका किशोरी र युवतीलाई लक्ष्य गरेर दलालहरूले धन्दा चलाएको पाइन्छ,’ उहाँले भन्नुभयो । यसलाई नियन्त्रण गर्न गाउँ–गाउँमा जनचेतानामूलक कार्यक्रम चलाउनुपर्ने अध्यक्ष खड्काको भनाइ छ । ‘किशोरीले परिवारमा अभिभावकसँग खुलेर कुरा राख्ने वातावरण तयार हुन सके जोखिम धेरै कम हुन्छ,’ उहाँले भन्नुभयो ।
न्यायमा उल्झन
बेचबिखनबाट जसोतसो जोगिएका र उद्धार गरिएका किशोरी/युवतीले सामाजिक पुनर्स्थापना र न्याय प्राप्तिका लागि गरेको सङ्घर्षको कथा छुट्टै छ ।
अस्मिताले २०७५ भदौ १६ मा किसन बराइली र शिवमाया सेन्चुरीविरुद्ध प्रहरीमा जाहेरी दिनु भयो । प्रहरीले दुवैमाथि मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीको मुद्दा चलायो । किसन फरार भए । जिल्ला अदालत इलामले २०७५ चैत १४ गते आरोप प्रमाणित हुन नसकेको ठहर गर्दै शिवमायालाई सफाइ दियो । फरार किसनको हकमा भने मुद्दा तामेलीमा राखियो ।
अर्कोतिर छोरालाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्ताले अस्मिता पिरोलिनु भएको छ । परिवारको आर्थिक अवस्था यसै कमजोर छ । अस्मिताको पछिल्लो अवस्था नियालिरहनु भएकी स्थानीय स्वास्थ्य स्वयंसेविका सीता पौडेलले भन्नु भयो, ‘अदालतबाट न्यायसमेत नपाएपछि उनी मानसिक रूपले पनि कमजोर बनेकी छन् । एक्लै बस्न मन पराउँछिन् । थोरै बोल्छिन् ।’ माई नगरपालिका १० का वडाध्यक्ष मनबहादुर बस्नेतले अस्मितालाई राहत दिलाउने उपायको खोजी भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यिनको गल्ती छैन, पाउनुपर्ने न्याय पाइनन् । सहयोगको लागि बाटो खोज्दैछौँ ।’
अस्मिताले भने आफू वैदेशिक रोजगारीमा गएर भए पनि छोरालाई राम्ररी हुर्काउने बताउनु भयो । ‘छोराको भविष्यको लागि केही नगरि भएकै छैन,’ उहाँले भन्नुभयो । उहाँले न्यायको आश पनि मारिहाल्नु भएको छैन ।
सुरक्षाले २०७३ जेठ २५ मा मन्जेशकुमार दासविरुद्ध जिल्ला अदालत इलाममा मुद्दा दर्ता गर्नु भएको थियो । अदालतले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणीको अभियोगमा दाबी नपुग्ने भन्दै २०७३ भदौ २७ गते मन्जेशलाई सफाइ दियो । सुरक्षाले उच्च अदालत विराटनगरको इलाम इजलासमा पुनरावेदन दिनुभयो । उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो ।
अरूको फरक नजरको कारण सुरक्षाले गाउँमा बस्नसमेत अप्ठेरो महसुस गर्नुभयो । माइती नेपालको पशुपतिनगरको आवधिक गृहमा बसेर लहैलहैमा लाग्दा कसरी बेचबिखनमा परिन्छ भनेर अरूलाई सम्झाउन र बुझाउन सक्रिय हुनुभयो । यस्तै विषयमा नाटक खेल्नु भयो । अहिले उहाँको सामाजिक परिचय बदलिएको छ ।
पाँचथरकी वन्दनाले पनि विवेक राई र गाडीमै रहेका अर्का यात्रु दलवीर मुखियाविरुद्ध प्रहरीमा जाहेरी दिनु भयो । २०७५ भदौ २९ गते प्रहरीले दुवैलाई पक्राउ गर्यो । इलाम जिल्ला अदालतले विदेशी नागरिकसँग दुई दिनमै प्रेम नबस्ने ठहर गर्दै विवेकलाई दोषी करार गर्याे । युवतीलाई होटलमा काम लगाई श्रम शोषण गर्ने उद्देश्य रहेको पुष्टि गर्दै राईका नाममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा १५ (१) (च) बमोजिम कसुर ठहर गर्याे । अदालतले २०७६ भदौ १९ मा गरेको फैसलामा मुलुकी कार्यविधि संहिता २०७४ को दफा १३१ बमोजिम पीडितलाई ५० हजार क्षतिपूर्ति दिने र विवेकले एक वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने उल्लेख छ । अदालतले बेचबिखनमा सहयोगी भूमिका खेलेको भन्दै दलवीरलाई नौ महिना कैद हुने ठहर गर्यो । अधिवक्ता याम लिम्बूका अनुसार क्षतिपूर्ति अदालतमा दाखिला भए पनि पीडितको हातमा परेको छैन ।
अदालतको फैसलापछि वन्दनाको जीवनमा नयाँ चरण सुरु भएको छ । उहाँले एक युवकसँग विवाह गर्नुभएको छ । ‘मैले त्यो घटनाबाट ठूलो पाठ सिकेँ,’ उहाँले भन्नु भयो, ‘कसैले देखाएको प्रलोभनमा परेर छिटो निर्णय लिन नहुने रहेछ ।’
अधिवक्ता लिम्बूको बुझाइमा प्रमाणको भार पीडितले नै बोक्नुपर्ने व्यवस्थाका कारण मानव बेचबिखनमा परेका ग्रामीण भेगका निरक्षर र कमजोर आर्थिक हैसियतका पीडित न्यायबाट विमुख भइरहेका छन् । उहाँका अनुसार पीडितले प्रहरी र अदालतमा दिने बयानमा एकरूपता नभएर पनि पीडक पक्षले फाइदा उठाउने गरेको देखिन्छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १३ (१) मा पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक रूपमा पुनर्स्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउन नेपाल सरकारले पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने भनिएको छ ।
तर यसको कार्यान्वयन भएको छैन । यही ऐनको दफा १७ (१) मा अदालतले कसुरदारलाई भएको जरिबानाको ५० प्रतिशत बराबरको रकममा नघट्ने गरी निजबाट पीडितलाई उचित क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।
कसुरदारको न्यून आर्थिक हैसियत भए पुनर्स्थापना कोषबाट पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने भनिएको छ । जिल्ला अदालत इलामका श्रेस्तेदार निरज पोखरेलले नियमावली बनिनसकेकाले पुनर्स्थापना कोष नै खडा नभएको जानकारी दिनु भयो । अधिवक्ता लिम्बू भने ऐनमा व्यवस्था भएको क्षतिपूर्ति भरणको व्यवस्था पनि पर्याप्त नरहेको बताउनु हुन्छ ।
मानव बेचबिखनमा परेकाहरूलाई उद्धारपछि साथ, सहयोग र सान्त्वनाको खाँचो पर्छ । तर बेचबिखनमा परेको भन्नासाथ समाजले गलत ढङ्गले हेरिदिने र कुरा काट्ने प्रवृत्ति रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका उपप्राध्यापक तथा समाजशास्त्री सन्तोष पराजुलीले बताउनु भयो । ‘यसले पीडितलाई सधैँ अप्ठ्यारोमा पारिराख्छ । त्यसैले पीडितहरू समाजबाट भरसक टाढै रहन खोज्छन्,’ उहाँले भन्नुभयो ।
(मिडिया फाउण्डेसनसँगको सहकार्यमा )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।