नेपाल–भारत संयन्त्रकाे बैठक सम्पन्न, भारतीय सहयाेगमा नेपालमा सञ्चालित परियाेजनाबारे छलफल

 भदौ १, २०७७ सोमबार १५:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) को साेमबार काठमाण्डाैमा भिडियाे संवाद भएकाे छ । बैठकमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् ।

सन् २०१६ मा भारतले सहयोग गरेका विभिन्न परियोजनाहरूको प्रगति अनुगमन गर्न बसेको बैठक संयन्त्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र एजेन्सीका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी, परामर्शदाता र परियोजना कार्यान्वयनमा रहेका ठेकेदारहरू उपस्थित थिए ।

भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्नुभएकाे हाे । झण्डै तीन महिनापछि दुई पक्षबीच पहिलाे पटक औपचारिक वार्ता भएकाे हाे ।  

सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 

त्यसपछि गएको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विवाद झनै बढ्यो र संवादविहीनताको अवस्था सिर्जना भएको थियाे ।  भारतको त्याे व्यवहारपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो विषयलाई लिएर नेपाल र भारतबीच तनाव उत्पन्न हुँदा द्विपक्षीय संवाद पनि ठप्प भएको थियाे । 

नेपालमा विसं २०७२ सालकाे भूकम्पले भत्किएका ५० हजार हजार निर्माण गरिने भारतीय पक्षले प्रतिबद्धता गरेकाे र अहिलेसम्म ४६ हजार तीन सय एक घर निर्माण भएको बैठकमा जानकारी दिइएकाे थियाे । 

साथै बैठकमा माेतीहारी–अमलेखगञ्ज पेट्राेलियम पाइपलाइनकाे बारेमा पनि छलफल भएकाे थियाे । 

दुवै पक्षबीच भारत सरकारको सहयोगमा आर्थिक र विकास सहयोग परियोजनाहरु कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्न पारस्परिक सुहाउँदो मितिमा पर्यवेक्षण संयन्त्रको अर्को बैठक गर्ने कुरामा सहमति भएको छ ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया