कोरोनामुक्त भएर छिट्टै नागरिककाे सेवामा समर्पित हुनेछु : मेयर शाक्य

 भदौ १६, २०७७ मंगलबार १६:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै नागरिककाे सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । 

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनुभएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’ 

उहाँले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाण्डाै र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई सङ्क्रमण पुष्टि भएको स्मरण गराउनुभएको छ । 

‘विश्व नै अहिले कोरोनाको कहरमा छ । नेपालमा पनि हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । सङ्घीय राजधानी काठमाण्डाै उपत्यका र काठमाण्डाै महानगरपालिकामा समेत सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ’, उहाँले भन्नुभएको छ, ‘यस्तो जटिल परिस्थितिमा समेत उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाण्डाै र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई सङ्क्रमण पुष्टि भएको छ ।’ 

त्यसैगरी शाक्यले जारी गर्नुभएको विज्ञप्तिमा भदौ १४ गते आइतबार उहाँको धर्मपत्नीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो देखिएको र दुवै जना नियमित परीक्षणका लागि ग्राण्डी अस्पताल पुग्दा कोरोना पोजेटिभ देखिएको उल्लेख छ । ‘चिकित्सकको सल्लाहअनुसार नै हामी दुवैले पीसीआर परीक्षणका लागि स्वाब दिएका थियौँ । धर्मपत्नीको परीक्षणसँगै दुवैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेशनमा बसेका थियौँ’, उहाँले भन्नुभएको छ, ‘सोमबार अस्पतालबाट हामी दुवैको पीसीआर रिपोर्टबारे जानकारी प्राप्त भयो । अस्पतालले दिएको जानकारीअनुसार मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’  

उहाँले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको जानकारी गराउनुभएको छ । ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरो परिवार होम आइसोलेशनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमै भन्नुभएको छ, ‘जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म सङ‍्क्रमित भएको छु । होम आइसोलेशनमा रहे पनि काठमाण्डाै महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ 

मेयर शाक्यले विज्ञप्तिमार्फत लकडाउनको सुरुको अवस्थादेखि अहिले जारी निषधाज्ञासम्म काठमाण्डाैवासी र सेवाग्राहीको सेवामा घरपरिवार र जीवनको समेत प्रवाह नगरि कठिन अवस्थामा पनि अहोरात्र खटिरहनुभएका जनप्रतिनिधि र कर्मचारीप्रति उच्च सम्मान देखाउनुभएकाे छ । ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अवस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु’, उहाँले थप भन्नुभएको छ, ‘काठमाण्डाै महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ 

देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई उहाँले आत्मसात् गरेको भन्नुभएको छ । ‘विभिन्न राजनीतिक दल, सङ्घ–संस्था र विभिन्न ओहदामा रहनुभएका व्यक्तित्वहरुले गर्नुभएको शुभेच्छालाई पनि मैले ग्रहण गरेको छु । सबैका शुभेच्छालाई यही अपिलमार्फत धन्यवाद भन्न चाहन्छु’, विज्ञप्तिमा भनिएकाे छ, ‘मलाई सङ्क्रमण पुष्टि भएको एक हप्ता अघिसम्म मेरो प्रत्यक्ष सम्पर्कमा आउनुभएका सबैलाई सचेत रहन र आवश्यकताअनुसार पीसीआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्दछु ।' 

उहाँले कोरोना जस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ट प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गर्नुभएको छ । ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र सङ्क्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु’, उहाँले भन्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हेम गुरुङ अभिनाश

    Sept. 1, 2020, 8:51 p.m.

    यिनी लगायत सबै दलाल, तस्कर, कमिसनखोर नेता भनाउदा लाई यो हिउँद देख्न नपाओस्

  •  0 Reply

तपाईको प्रतिक्रिया