प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, कार्यकाल दुई वर्ष मात्रै थप्ने प्रधानमन्त्रीको अडानमा प्रचण्डको असहमति

 भदौ २६, २०७७ शुक्रबार १४:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । 

‘उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्छ’, मन्त्रालय स्रोतले भन्यो । 

तर उहाँको अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ । 

‘कुलमानलाई दोहोर्‍याउन दुई अध्यक्षबीच सहमति भइसकेको छ तर अवधि टुङ्गो नलाग्दा प्रस्ताव फाइनल भएको छैन’, मन्त्रालय स्रोतले भन्यो । 

तर विद्युत् प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएकाले त्यसलाई मिलाउन भने समस्या देखिएको छ ।  

प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार हुनुभएको छ तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा हुनुहुन्छ । 

ऊर्जामन्त्री वर्षमान पुनले प्रचण्डको भनाइमा सहमत जनाउनुभएको छ । विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • रामकृष्ण पौडेल

    Sept. 12, 2020, 12:36 a.m.

    अबको चार बर्षे कार्यकाल कुलमान घिसिङ लाई नै दिनुपर्छ

  •  0 Reply
  • Aashish

    Sept. 11, 2020, 8:59 p.m.

    आजीवन दिंदा पनि हुन्छ , राम्रो गर्ने मान्छेलाई केहि फरक पर्दैन /

  •  0 Reply
  • subash

    Sept. 11, 2020, 4:10 p.m.

    नेताहरुले ठूलो काम गर्ने होइन, ठूलो काम गर्ने मान्छेलाई सपोर्ट गर्ने र ठीक स्थान दिने हो ..देश आफै बन्छ , सकिन्छ अरु कुलमान जस्तो मान्छे खोजी गरौं र सपोर्ट गरौँ ..सकिन्न भने भएका कुलमानलाई निरन्तरता दिनवाट नचुकौँ /

  •  0 Reply
  • Shyam kalyan prasad

    Sept. 11, 2020, 3:13 p.m.

    ४ वर्ष कै लागि समय थप्नुपर्छ , राम्रो काम गर्ने मान्छे हटाउन खोज्ने यो सरकारको काम छैन /

  •  1 Reply

तपाईको प्रतिक्रिया