१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ ।
चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।
आफूहरु भवन बनाएको ठाउँमा पुगेपछि चिनियाँ पक्षले भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर जमिन चीनको रहेको दाबी आफूहरुलाई फर्कन भनेका अध्यक्ष तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकाेले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष तामाङले पहिले त्यो क्षेत्र खुला सीमा रहेकोले नेपाल र चीन दुवैतर्फका पशुचौपायाको चरण क्षेत्र रहेको र अहिले चिनियाँ पक्षले नाका बन्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्सा हेर्दा हाम्रो देखिन्छ, ११ नम्बरको पिल्लर छैन, पहिले भोगचलन दुवै पक्षबाट हुन्थ्यो, अहिले त्यहाँ जाँदा त्यो ठाउँभन्दा एक किलोमिटर वर पनि उसैको भूमि भन्छ, अब यो कुरा सरकारले नै टुङ्ग्याउनुपर्छ, हामी पालिकाको तर्फबाट त सहयोग मात्रै गर्ने हो ।’
नाम्खा गाउँपालिकाको भूभागमा देखिने लाप्चा बगरमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएका र भोगचलन गर्ने गरेको पनि अध्यक्ष तामाङले बताउनुभयो । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो ।
तस्बिर साैजन्य : गाउँपालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।