१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने गरी कानुन ल्याउन लागेको छ । अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गर्न लागेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । अब राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि कानुनमा संशोधन गरी लागू हुने छ ।
अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ । यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ । यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ ।
यसअघि सरकारले एसिड पीडितको निःशुल्क उपचार हुने बताइसकेकाे छ । यस्तै उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहाेर्ने निर्णय भइसकेकाे छ । यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने छ ।
यस्तै पीडितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ र यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउने छ । त्यसैगरी क्षमता विकाससम्बन्धी तालिम र सीपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउने छ भने उद्योग मन्त्रालयले योग्यताअनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ । त्यसैगरी व्यावसायिक कृषि खेती गर्न चाहे सहुलियत कर्जामा कृषि मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले कर्जा उपलब्ध गराउने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।