१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सांसदहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषद्लाई आग्रह गरेका छन ।
नेपालमा काम गरिरहेका सङ्घ संस्थाहरुले आफ्नो उद्देश्यअनुसार लक्षित समुदाय केन्द्रित काम गर्न नसकेको भन्दै सांसदहरुले कडाइका साथ नियमन गर्नुपर्ने बताएका हुन । समाज कल्याण परिषद्को आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले परिषद्लाई कडाइका साथ सङ्घ संस्थाहरुलाई नियमन गर्न सुझाव दिएका छन ।
सांसद नारायणप्रसाद खतिवडाले अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुले धर्म परिवर्तनका लागि लगानी गरिरहेको बताउनुभयो । समुदाय लक्षित विकास निर्माणका काम गर्नुको सट्टा नगद रकम दिएर धर्म परिवर्तनको काम आईएनजीओहरुले गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
सांसद शिवकुमार मण्डलले गैरसरकारी सङ्घ संस्थाहरुलाई नियमन गर्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै कानुनको अभाव भए कानुन निर्माणका लागि परिषद्ले सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । लक्षित वर्गसम्म पुग्ने गरी गैरसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो ।
सांसद थममाया थापाले गैरसरकारी सङ्घ संस्थाहरु राजधानी वरिपरि मात्रै केन्द्रित भएको बताउनुभयो । कार्यक्षेत्र, कार्यक्रम, पारदर्शिता र अनुगमनको मापदण्ड बनाएर गैरसरकारी सङ्घ संस्था नियमनमा ध्यान दिन उहाँले परिषद्लाई आग्रह गर्नुभयो ।
सांसद गंगा चौधरी सत्गौवाले जति पनि गैरसरकारी सङ्घ संस्थालाई अनुमति दिएर समाज कल्याण परिषद्लाई विगतमा कमाइ खाने भाँडो बनाएको आरोप लगाउनुभयो । उहाँले दर्ता भएका संस्थाहरुको प्रतिवेदन, कार्यक्षेत्रअनुसार काम गरे/नगरेको विषयमा अनुगमन गर्न परिषद्ले नसकेको बताउनुभयो ।
सांसद लक्ष्मी परियारले संस्थाका नाममा सरकारलाई झुक्याएर बजेट लिएर बाँडफाँड गर्ने प्रवृत्ति अहिले पनि रहेको बताउनुभयो । गैरसरकारी संस्थाहरु नियमनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
परिषद्का उपाध्यक्ष डा. पद्मप्रसाद खतिवडाले गैरसरकारी सङ्घ संस्थाहरुलाई नियमन गर्ने उद्देश्यले नै उपसमिति गठन गरी काम सुरु गरेको बताउनुभयो । गैरसरकारी संस्थाहरुलाई पेस गर्ने परियोजनाहरुको सुक्ष्म अध्ययन गरेर मात्रै अनुमति दिने गरी उपसमिति गठन भएको उहाँले बताउनुभयो ।
परिषद्का कोषाध्यक्ष लोकनाथ सुवेदीले सरकारी अनुदानबाट न्यून मात्रामा मात्रै बजेट आउने गरे पनि स्व–आर्जनबाट परिषद्ले आफ्नो खर्च धानिरहेको बताउनुभयो । अहिलेको अवस्थामा परिषद् आर्थिक रुपमा धराशायी बनेको उहाँले बताउनुभयो ।
परिषद्ले विभिन्न ठाउँमा रहेको जग्गा मिलेमतोमा न्यून मूल्यमा भाडामा दिने गरेको, गैरसरकारी संस्थाहरुको नियमन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।