काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – तातोपानी र रसुवागढी नाका खुलाउन चीन तयार भएको छ । मङ्गलबार भएको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो भिडिओ बैठकमा कोरोना सङ्क्रमणबाट बच्न सुरक्षा मापदण्ड अपनाएर नाका खोल्न चीन तयार रहेको बैठकको नेतृत्व गर्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।
‘चिनियाँ पक्षले कोरोनाको जोखिमलाई धेरै महत्त्व दिएको पाइयाे, कोरोनाबाट बच्न पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नाका खोल्नेमा चीनको असहमति नरहेको उहाँहरुले बताउनुभयो । हामीले पनि मापदण्ड अपनाएर नाका खोल्छौँ भनेका छौँ’, सहसचिव दाहालले भन्नुभयो ।
बैठकमा दुई देशबीच व्यापार सहजीकरणको लागि रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह स्थापना गर्ने विषयमा कुराकानी भएको छ । एक सय ८८ प्रकारका वनस्पति, मासुजन्य र खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि छलफल भएको छ ।
यस्तै नेपालमा वनस्पति र पशुजन्य वस्तुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने, चीन निकासी गर्ने खाद्यवस्तुमा लेबलिङ गर्ने, स्याफ्रुबेसी–रसुवा सडक मर्मत तथा स्तरोन्नतिको विषयमा पनि छलफल भएको छ ।
यस्तै नेपाल–चीन सीमा नजिक वारपार आर्थिक क्षेत्र स्थापनाको विषयमा पनि छलफल भएको छ । व्यापार पूर्वाधार विकास सहयोग अन्तर्गत नेपालले मुस्ताङको कोरलामा एकीकृत जाँच स्टेशन निर्माणको लागि चिनियाँ पक्षलाई अनुरोध गरेको छ । यस्तै ओलाङचुङगोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्त रुपमा अध्ययन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा चीनको तर्फबाट वाणिज्य मन्त्रालयको एसिया मामिलाका महानिर्देशक पेङ गाङले नेतृत्व गर्नुभएको थियो ।
यस्तै बैठकमा प्रस्ताव गरिएको एजेण्डामा दुवै देशले आपसी सहयोग र आत्मनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति पनि भएको छ । नेपालमा चिनियाँ लगानी विस्तारको बारेमा पनि बैठकमा छलफल भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।