सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

 असोज २८, २०७७ बुधबार १९:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा बुधबार गरेकाे प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

रामनगर गाउँपालिका ७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधि सभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको कांग्रेसले आराेप लगाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफूहरुले हवाई फायर नगरेको तर ३१ राउण्ड अश्रुग्यास र सामान्य लाठी चार्ज गरेको जानकारी दिनुभयो । उहाँले भिड नियन्त्रणबाहिर गएपछि आफूहरुले बाध्य भएर अश्रुग्यास र सामान्य लाठी चार्ज गर्न पुगेको स्वीकार्नुभएको छ  ।

मलङ्गवा पब्लिक मावि अगाडिबाट विरोध प्रदर्शन सुरु गरिएको थियो । हत्याको छानबिन र उजुरी लिन माग गर्दै गरिएको प्रदर्शनमा जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रदेश सभा सदस्य सिंहले बताउनुभयो । उहाँले प्रहरीले सयौँ राउण्ड हवाई फायर गरेको जीकिरसमेत गर्नुभयो । 

प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको कांग्रेस सर्लाहीले जनाएको छ । घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।  

प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका चार जना घाइते भएको जानकारी दिनुभयो । घटनामा विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

कांग्रेसले राम मृत्यु प्रकरणका विषयमा सत्य तथ्य छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारका तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ । 

रामनगर–७ सिसौट बस्ने राममाथि यही असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेका बेला १२/१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणमा परि गम्भीर घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा ज्यान गएको थियो ।

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीकाे मलङ्गवा अस्पतालमा परिवारले ल्याउन खोजे पनि प्रहरीले दबाब दिएर वीरगञ्जकाे नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया