देहरादुनमा नेपाली विद्यार्थी कुटिएकाे घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ : कांग्रेस

 कात्तिक १३, २०७७ बिहीबार १४:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले भारतकाे देहरादुनमा नेपाली विद्यार्थी कुटिएकाे घटनालाई गम्भीरतापूर्वक लिएकाे जनाएकाे छ ।

‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा बनिसकेको छ । नेपाल र भारत दुवै देशका विद्यार्थी एकआपसको देशका विभिन्न सहरमा अध्ययनरत छन् । जो–जहाँ पढिरहेका छन्, सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन, त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरुको हो । कुनै पनि बहानामा संसारमा कहीँ पनि कोही एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोही पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले नेपाल सरकारसँग माग गरेकाे छ । 

कांग्रेसले नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आउँदा दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि पनि सरकारसँग माग गरेकाे छ । 

गएकाे कात्तिक १० गते विजयादशमीकाे दिन गते देहरादुनको डिकिलिङमा रहेकाे शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गरेकाे खबर सार्वजनिक भएकाे थियाे । 

५१ जना विद्यार्थीले दशैँ–तिहारकाे बिदामा घर जान पाऊँ भन्दै निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि निर्घात कुटपिट गरेकाे बताइएकाे छ । 

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले घटनाबारे ध्यानाकर्षण भइसकेकाे र सत्य तथ्य बुझ्ने काम भइसकेकाे बताउनुभएकाे थियाे । 

 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया