१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सिंहको जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको संवाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालीन समयमा राष्ट्रिय एकताका लागि उहाँले खेल्नुभएको भूमिकाकाे नेताहरूले प्रशंसा गरेका छन् ।
सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमान सिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताउनुभयो । राष्ट्रिय एकताका लागि उहाँले लिनुभएकाे कदमहरू कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गर्नुभएको उहाँले बताउनुभयो ।
कम्युनिष्ट र कांग्रेस भनेर सधैँ विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराउनुभएको सभामुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गणेशमान सिंह राष्ट्रिय एकताकाे पक्षमा हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ मा कांग्रेस र कम्युनिस्ट भनेर विभिन्न विवाद र बहस हुने गर्थे, उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस/कम्युनिस्ट नभनी नेपालको संविधान जारी गर्न सकेका हौँ ।’
नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताउनुभयो । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूले राजनीतिलाई पेसाका रुपमा लिने गरेको भए पनि सिंहले राजनीतिलाई सधैँ सेवाको रुपमा लिने गरेको नेम्वाङले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले राजनीतिमा लागेकाहरूको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरू प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक–पटक हुनुपर्छ भन्ने छ । (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु, राजनीति पेसा होइन, सेवा हो । त्यति बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफू प्रधानमन्त्री हुनुभएन । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरू भन्दा अगाडि उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडि आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सिंहले सङ्गठन/सरकारमा जहाँ भए पनि आफ्नो फरक मत राखे पनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताउनुभयो ।
पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंहकाे क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरूले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्गठन वा सरकारमा जहाँ भए पनि उहाँले फरक मतकाे रुपमा आफ्नो विचार राख्नुहुन्थ्यो तर उहाँले लोकतन्त्र र राजनीतिक दल कमजोर हुने कहिले पनि काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन गरी सीमा विवाद हल गर्नुपर्ने बताउनुभयो । चीनले सगरमाथामा आफ्नो दाबी गर्दा वीपी कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उहाँले बताउनुभयो ।
सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्सा प्रकाशनको तयारी गरेको बताउनुभयो । उहाँले ७९ नक्सासहितको किताब प्रकाशनको तयारीमा आफू रहेको बताउनुभएको हो ।
२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिनुभएको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाण्डौको खानदानी परिवारमा जन्मिनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
२०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।