चीन र १४ अरू देशबीच विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सहमतिमा हस्ताक्षर

 मंसिर १, २०७७ सोमबार ११:७:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - चीन र १४ अरू देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाइ आर्थिक गतिविधि हुने गरेको छ । 

क्षेत्रीय बृहत् आर्थिक साझेदारी (आरसेप) सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली सङ्गठन (आसियान) को वार्षिक सम्मेलनका अवसरमा यस सहमतिमा हस्ताक्षर भएको हो । 

सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले गएको आठ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकामा आफूलाई निकै खुसी लागेको बताउनुभयो । 

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता मानिएको आरसेपले बहुपक्षीय व्यापार प्रणाली आजको आवश्यकता रहेको फेरि पुष्टि गरेको प्रधानमन्त्री फुकले बताउनुभयो । उहाँले यस सम्झौताबाट दिगो व्यापार सहजीकरणलाई सक्षम तुल्याउने, कोभिड–१९ का कारण छिन्नभिन्न भएको आपूर्ति प्रणालीलाई पुनर्जीवित तुल्याउने तथा महामारीपछिको आर्थिक पुनरुत्थानका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सदस्य राष्ट्रहरूबीच यसअघि नै न्यून व्यापार कर रहेको अवस्थामा यस सम्झौताले अझ करका दरहरूमा कमी ल्याउने छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सन् २०१६ मा सुरु गर्दा ११ सदस्यीय अन्तर प्रशान्त व्यापार सम्झौता परित्याग गर्नुभएको थियो ।

अन्तर प्रशान्त सम्झौतामा आसियानका १० सदस्य राष्ट्रका अलावा यसमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्ड पनि समावेश छन्, जसमा संयुक्त राज्य अमेरिका सदस्य छैन । यस समूहमा सदस्य हुन भारतलाई पनि आमन्त्रण गरिएको छ तर भारतमा यस सम्झौतालाई लिएर विरोध भएपछि भारत पछि हटेको छ । 

पछिल्लो आरसेप सम्झौताको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । करका दरबारेमा जापानका लागि बनाइएको दस्तावेज १ हजार ३३४ पृष्ठको भएकाले समग्र सम्झौताको बारेमा अध्ययन गर्न समय लाग्ने बताइएको छ ।

आसियान सदस्य राष्ट्रहरूमा कम्बोडिया, इण्डोनेसिया, लाओस, म्यान्मार, फिलिपिन्स, थाइल्यान्ड, ब्रुनाई, सिङ्गापुर, मलेसिया र भियतनाम रहेका छन् । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया