नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगको निर्णयबारे छलफल गर्दै

 माघ १३, २०७७ मंगलबार ९:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै प्रचण्ड-नेपाल समूह छलफलमा जुटेको छ । 

निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि बढ्ने भन्नेबारे आज छलफल गर्न लागिएको र छलफलपछि मात्रै आफूहरुको कदमको टुङ्गो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको सहमति र हस्ताक्षर हुनुपर्ने नेकपाको विधानमा उल्लेख छ । यसैबीच, नेकपाका प्रचण्ड-नेपाल पक्षले आजदेखि २८ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको छ । 

सार्वजनिक कार्यक्रमअनुसार आज सिट्ठी जुलुस निकाल्ने, भोलिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत कार्यक्रम रहेका छन् ।

काठमाण्डौ उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएका छ । यस्तै नेकपाको ओली पक्षले माघ २३ गते काठमाण्डौमा जनसभा गर्ने भएको घोषणा गरेको छ । 

ओली समूहको वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता नागरिकलाई जानकारी गराउने उद्देश्यले २३ गते रत्नपार्कमा जनसभा गर्न लागिएको जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया