प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन् : नेता नेपाल

 माघ १६, २०७७ शुक्रबार १८:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाउनुभएकाे छ ।

विराटनगरमा आयाेजित आफ्नाे समूहकाे विरोध सभालाई सम्बोधन गर्दै नेपालले संविधानमाथि घात गर्ने काम ओलीले गरेको बताउनुभएकाे हाे । नागरिककाे त्याग र बलिदानबाट आएको संविधानको घाँटी रेट्ने काम केपी ओलीबाट भएको नेता नेपालकाे भनाइ छ । 

‘आफूलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एकमात्र पार्टीभित्रको तमासा गर्ने व्यक्ति केपी ओली हुन्’, उहाँले भन्नुभयाे, ‘कम्युनिस्ट पार्टीमा कोही व्यक्ति सुप्रिम हुँदैन, आफुलाई पार्टीभन्दा माथि ठान्छ भने त्यो व्यक्ति कम्युनिस्टकाे नेता हुन सक्दैन, त्यो व्यक्ति तानाशाह हुन्छ ।’

केपी ओली ओरालो लागिसकेको व्यक्तिकाे पछि लाग्ने ओलीका मान्छेका अनुहार मलिन हुँदै गएको, ओली गुटमा लागेका व्यक्तिहरू शोक, बेहाल, बिजोग र घर न घाटको अवस्थामा पुगेको नेता नेपालको भनाइ छ । ‘प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन्’, नेपालले भन्नुभयाे, यस्तो अवस्थामा उनको गुटमा भएका केही व्यक्तिहरू बेहाल अवस्थामा छन् ।’

वकिल, पूर्वप्रधानन्यायाधीश, पत्रकार, नागरिक समाजलाई, सबैलाई ओलीले अपमान गरेको उहाँकाे आरोप छ । कम्युनिस्टहरू संस्कार बोकेर हिँड्ने, सबैलाई सम्मान गर्ने पार्टी भएकाले आफूहरूले सबैलाई इज्जत र प्रतिष्ठा गर्ने तर ओलीले अपमानमात्र गरेको नेता नेपालकाे भनाइ छ ।

कम्युनिस्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशितासँग ओलीलाई एलर्जी भएका कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरूले बनाउँदै गएको नेपालले बताउनुभयाे ।

‘पूर्वएमाले र पूर्वमाओवादी सकिएको अवस्थामा पनि ओलीले एमाले–एमाले भन्दै आएका छन्, एक भएको अवस्थामा अहिले कहाँबाट एमालेको कुरा आयो ?’ नेता नेपालको प्रश्न छ । उहाँले सूर्य चिह्न आफ्नै हुने दाबी गर्नुभयाे ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया