प्रचण्डकाे प्रश्न : छाेराछाेरीलाई अमेरिका नपठाइ गणतन्त्रकाे आन्दाेलनमा संलग्न गराउनु मेराे दाेष हाे ?

 माघ १६, २०७७ शुक्रबार १९:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिक्रियावादी एजेण्टले सार्वभाैम संविधानलाई अतिक्रमण गरेको आरोप लगाउनुभएकाे छ । 

विराटनगरमा आफ्नाे समूहकाे विराेध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै प्रतिक्रियावादीहरूको एजेण्ट भएर प्रतिनिधि सभा विघटन गरेकाे आराेप लगाउनुभएकाे हाे । यद्यपि दाहालले प्रतिनिधि सभा विघटन भने नभएको दाबी गर्नुभएकाे छ । देख्दा विघटन जस्ताे देखिए पनि विघटन नभएकाे दाबी गर्दै दाहालले ७० वर्षदेखि लड्दै आएको लोकतन्त्रवादी र कम्युनिस्ट आन्दोलनको उपलब्धि र नागरिकमाथि आक्रमण भएकाे आराेप लगाउनुभयाे । उहाँले आफूमाथिकाे आक्रमणलाई प्रतिकार गर्न नागरिकलाई आग्रहसमेत गर्नुभयाे । 

नेकपा पार्टी एक गर्ने र एकताको गठबन्धनको प्रस्ताव ल्याउने व्यक्ति आफू भएको पनि दाहालले बताउनुभएकाे छ । ‘शक्तिशाली पार्टी र समाजवादतर्फ जाऔँ भनेर भन्ने व्यक्ति म आफै हो, उहाँले भन्नुभयाे, तीन वर्ष नहुँदै प्रतिगमन र प्रतिक्रान्तिको काम भएको छ, अहिले मलाई नागरिककाे अघि भन्न पनि लाज लागेको छ ।’

चुनावी अभियानका बेला छोराको निधन भएको सम्झिँदै दाहालले देशलाई समाजवादको दिशामा लगेर अहिलेका युवायुवतीलाई उज्यालो पार्ने आफ्नो सपना रहेको बताउनुभयाे । समाजवादको दिशामा अघि बढ्दै गरेको बेला केपी ओली प्रतिक्रान्तिकारीको खोपी बनेर उभिएको उहाँकाे भनाइ छ । 

‘केपी ओली बेइमान, ठगीधन्दा र खुरापातको माध्यमबाट अघि बढेका छन्’, दाहालले भन्नुभयाे, ‘प्रतिक्रान्तिकारीहरूले ओलीलाई घेरेका छन्, सामन्त र दलाल पुँजीपतिको पक्षमा ओली उभिएर प्रतिनिधि सभा विघटन गरेका हुन् ।’

आफ्ना नाता गोतालाई मात्र हेर्ने गरेको प्रचण्डलाई आरोप लगाउँदै आउनुभएका ओलीका विरुद्धमा उहाँले कडा अभिव्यक्ति दिनुभएकाे छ । सभालाई सम्बोधन गर्दै दाहालले भन्नुभयाे, ‘म निःसन्तान भइनँ, के मेरो दोष हो ? मैले छोराछोरीलाई अमेरिका पठाइँन, छोराछोरीलाई मसँगै बन्दुक बोकाएर जङ्गल लिएर गएँ, त्यो मेरो दोष हो ?’

भावुक देखिनुभएका प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयाे, ‘म तपाईँसँग न्याय चाहन्छु, केपी ओलीले अत्याचार गर्न खोजे, शान्ति र न्यायका लागि जसले त्याग र बलिदान दियो, त्यसलाई निमेट गर्ने र अपमान गर्ने काम ओलीले गरेका छन् । छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराउनु मेरो दोष हो ? छोरी भएपछि ज्वाइँ हुन्छ, छोराको बुहारी हुन्छ, नातिनातिना हुन्छन्, के त्यो मेरो दोष हो ? धर्म छोरी भन्दै मैले कसैलाई नजिक पार्ने काम गरेको छैन ।’ धर्म छोराछोरी भन्दै तीनैलाई मात्रै हेर्न नागरिकका दुःख सुखमा साथ नदिने काम ओलीले गरेको दाहालको भनाइ छ ।

दाहालले देश कोरोना महामारीले आक्रान्त भएको बेला औषधि ल्याउनका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई च्यापेको, ७० करोड भ्रष्टाचार गर्नेलाई जोगाएको समेत आरोप लगाउनुभयाे । नागरिक ओलीका विरुद्ध सडकमा आएकाले अब ओलीको श्री ३ महाराज बन्ने शोखलाई क्षणभरमा सकिदिने उहाँकाे दाबी छ । 

प्रतिनिधि सभा बैठक बोलाउन सक्छौँ

सभालाई सम्बोधन गर्दै दाहालले प्रतिनिधि सभा भङ्ग नभएको दोहोर्‍याउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘हाम्रो प्रतिनिधि सभा विघटन भएको हैन, केपी ओली विघटन भएको हो, केपी ओलीको सरकार भङ्ग भएको हो ।’ इतिहासमा ओलीलाई कलङ्क र तानाशाहको रूपमा नागरिकले सम्झिने दाहालले बताउनुभयाे । 

संविधानमा नभएको अधिकार प्रयोग गरेर गरिएको प्रतिनिधि सभा विघटन आफूहरूले स्वीकार गर्न नसक्ने भएकाले सभामुखमार्फत् प्रतिनिधि सभा बोलाउन सक्ने दाहालले दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया