‘केहीलाई प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने भ्रम छ, छातीमा पोस्टर टाँसेर सडकमा बसिरहेका छन्’

 माघ १८, २०७७ आइतबार १९:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रबन्धभन्दा पृथक् खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ । 

मुस्लिम समुदायको हक हितको संरक्षण, संवर्द्धन, सशक्तीकरण विषयमा आइतबार काठमाण्डाैमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध र संसदीय दलको विधानभन्दा पृथक् खालका अभ्यासहरू गर्ने षड्यन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । उहाँले अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि नागरिकप्रति, राष्ट्रप्रति जबाफदेही भएर काम गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताउनुभयो । 

संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ देशलाई लैजान गतिशील र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क पाैडेलले गर्नुभयो ।

सरकारले नागरिककाे पक्षमा, राष्ट्रकाे पक्षमा धेरै महत्त्वका कामहरू गरिरहँदा ती कामहरूलाई सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरू भएको उहाँले बताउनुभयो । सरकारले गरेका कामबाट विपक्षीहरूले विरोध गर्ने विषय नपाउँदा, नागरिकले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको मन्त्री पाैडेलकाे दाबी छ । 

सरकारलाई नागरिककाे पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकाले पनि प्रतिनिधि सभा विघटन गरि अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको उहाँकाे भनाइ छ । 
चुनावका लागि द्विविधामुक्त भएर अगाडि बढ्नसमेत अर्थमन्त्री पौडेलले आग्रह गर्नुभएको छ । 

अझै पनि केही मानिसहरू प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ कि भन्ने भ्रमले छातीमा हामी यहाँ छाैँ लेखिएकाे पोस्टर टाँसेर सडकमा बसिरहेको पाैडेलले बताउनुभयो । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापना हुने कुनै सम्भावना नभएको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया