सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताउनुभएको छ ।
काठमाण्डौमा शुक्रबार बिहान पत्रकासँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरेको बताउनुभएको हो । यद्यपि गल्ती, कमजोरीलाई सच्याउँदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ आफू अघि बढेको उहाँको दाबी छ । बिस्तारै कार्यकर्ताहरूले सही–गलत छुट्याउन थालेकाले निराश हुने अवस्था नरहेको दाहालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा ठूलो खतरा निम्तिएको छ । कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरे । केपीजीले आत्मसमर्पण गरेकै हो ।’
उहाँले लोकतन्त्रको रक्षा हुन्छ कि हुँदैन भन्ने प्रश्न नै मूल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिँड्ने सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन हुन सक्ने सङ्केत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले प्रतिनिधि सभा विघटन गरेर देशलाई ठूलो राजनीतिक र संवैधानिक सङ्कटमा धकेल्ने काम भएको छ । प्रकारान्तले यो देशमा फेरि गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीजीले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भङ्ग गर्ने कुरा पनि हो । लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । यस अर्थमा विषय गम्भीर देख्छु । केपीले निर्णय गरे, प्रचण्ड–माधवले विरोध गरे । भनेको जस्तो सामान्य होइन । शान्ति र संविधानसँग जोडिएको विषय भएकाले तेस्रो जनआन्दोलन हुन्छ–हुँदैन भन्दा नि यो इस्युलाई सच्याइन्छ कि सच्याइँदैन भन्ने हो ।’
उहाँले पार्टी विधान विपरीत प्रधानमन्त्री ओलीले एकपक्षीय ढङ्गले आफू एक नम्बरको अध्यक्ष भन्दै हिँडेको बताउनुभयो । महाधिवेशनसम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहे पनि एक र दुई नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुई वटा बराबरी भन्ने हो । विधानमा पनि दुई वटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् । म पनि त्यस्तै छु । सोझो भन्ने कि ? लाटो भन्ने कि ? भावुक भन्ने कि ? उदार भन्ने कि ? तपाईँभन्दा तीन वटा भोटा मैले बढी फटाएको छु । मलाई १ मा राखिदिनुन त, के भो त ? भनेपछि मैले मान्दिएँ । निर्वाचन आयोगमा १ नम्बर भन्नुहुन्छ भन्ने भएको भए । ज्यान जाला मान्दिनथेँ ।’
नेता दाहालले सरकार संविधान, नियम कानुन उल्लङ्घन गर्दै गुण्डागर्दी शैलीमा अघि बढेको आरोप लगाउनुभयो । आफू एमसीसीको समर्थनमा नगएको र पार्टीले पनि निर्णय नगरिसकेको उहाँले स्पष्ट पार्नुभयो । सरकारका असंवैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आह्वान गरिएकाले त्यसैमा केन्द्रित हुन आफूले कार्यकर्तालाई भनेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘संवैधानिक परिषदमा भएको ज्यादतीपूर्ण निर्णय । म त भन्छु त्यो त गुण्डागर्दी टाइपको छ । पत्रकार साथीहरू यो सामान्य खालको छैन । सभामुखले यो सुनुवाइ समिति पनि नभएको, प्रक्रिया पनि नपुगेको भनेर फिर्ता पठाएको स्थिति छ । यो बेला १० थरीका नारा लगाउनुभन्दा नारा जे आन्दोलनको ठोस कार्यक्रमको हो त्यही केन्द्रित गरौँ भन्या हो मैले । त्यसको अर्थ म एमसीसीको समर्थनमा गएँ, मैले नीति बदलेँ भन्ने कुरा होइन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।