धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले नागरिकको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि सङ्घीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको बताउनुभएको छ ।
नेकपाको प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे उहाँले कुर्सी र पदसँग प्रधानमन्त्री ओलीले संविधान र सङ्घीयता साट्ने काम गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘संविधानलाई केपी ओलीजीले कुर्सीसँग साट्नुभयो । सङ्घीयतालाई उहाँले पदसँग साट्नुभयो ।’ नेता शर्माले संविधान र सङ्घीयता कुर्सी र पदसँग साटिन नसक्ने भन्दै खबरदारी गर्नुभयो ।
शान्तिपूर्ण आन्दोलनमा आएका नागरिक कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने उहाँले चेतावनी दिनुभयो । नेता शर्माले राजनीतिक पार्टीका सीमित नेतामा असीमित अधिकार दिने काम भएको र त्यही असीमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गर्नुभयो । उहाँले त्यसको समीक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आफूले जिम्मा लिन तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सीमित राजनीतिक पार्टीका सीमित नेताहरूमा असीमित अधिकार हुनुको परिणाम हो आज यो । केपी ओलीमा असीमित अधिकार भएको कारणले यो भएको छ । केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउण्ड कहाँ तयार भो ? कसरी केपी ओली पैदा भए ? त्यसको समीक्षा गर्नुपर्छ, त्यसको जिम्मा लिनुपर्छ । त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु । कहाँबाट केपी ओली पैदा भए ? अन्यथा यो समीक्षा गरेनौँ र यो कुरा स्वीकार गरेनौँ भने फेरि महेन्द्रहरू जन्मनेछन् । फेरि केपी ओलीहरू जन्मनेछन् । त्यसलाई जन्मन नदिनका लागि हामीले समीक्षा गर्नुपर्छ ।’
नेता शर्माले पार्टीको रूपान्तरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसैगरी नागरिकले घेराबन्दी गर्ने पार्टी नेतृत्व दलालहरूले घेराबन्दी गर्ने होइन । आज दलालहरूले घेराबन्दी गर्ने अवस्था छ । त्यसको अन्त्य गरेर नागरिकको बीचमा नेतृत्व हुर्कनुपर्छ ।’
संविधानअनुसारको जनअधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागू गर्न नदिन अपाङ्ग बनाइएको, ओम्नीको नाममा नागरिकको अधिकारमाथि खेलबाड गरिएको, समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै उहाँले नयाँ कुलमान निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राज्यका सबै संरचनाहरू लोकतान्त्रिकीकरण हुन नसक्नुको परिणाम अहिले भोग्नुपरेको भन्दै उहाँले सबै परिर्वतनकामी जगतलाई लोकतन्त्रको रक्षाको आन्दोलनमा सहकार्य गर्न आह्वान पनि गर्नुभयो ।
नेकपाको प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरी प्रधानमन्त्री केपी ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको बताउनुभयाे । उहाँले निरङ्कुश र तानाशाहलाई प्रधानमन्त्री ओलीले फर्काउन खोजेको भन्दै खबरदारी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘खबरदार केपीजी सङ्घीयतालाई मास्न पाइँदैन । लाखौँ लाख नागरिक सडकमा उत्रिसके । अब तपाईँको पालो छ । तपाईँलाई समाप्त पार्ने आन्दोलनमा नागरिक होमिइसकेका छन् ।’
उहाँले प्रतिगमन नसच्चिएसम्म प्रतिगमनविरुद्धको आन्दोलन नरोकिने बताउनुभयो ।
त्यस्तै माधव–प्रचण्ड समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर देशलाई दुर्घटनाको दिशामा लगेको बताउनुभयो । उहाँले हिटलरको प्रसङ्ग उल्लेख गर्दै दुनियाँका तानाशाहहरूले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाह भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दुनियाँका तानाशाहहरू झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुर्याउने सामर्थ्य राख्छन्, तीमध्ये केपी ओली पनि एक हुन् । उनले झुटलाई डेन्टिङपेन्टिङ गरेर सत्य हो कि भन्ने ढङ्गले बोल्छन् ।’
उहाँले प्रधानमन्त्री केपी ओलीमा पनि तानाशाह हिटलर जस्तै जिन्दगीभर झुट बोल्ने बानी परेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।