खुलामञ्च खुलाउने पहल गर्दै महानगर, निर्माण सामग्री हटाइँदै

 माघ २८, २०७७ बुधबार २०:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाण्डाै महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाइ खुला गर्ने पहल सुरु गरेको हो । 

‘मेयरज्यूको निर्देशनअनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेका छौँ’, काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रिय महत्त्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरूले महानगरपालिकासँग गरेको आग्रहअनुसार नै ठाउँ उपलब्ध गराएको हो । 

कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौँ ।’ 

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरू अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नुपरेकोप्रति थप ध्यानाकर्षण भइ महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाइ छ । 

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्रभित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ’, ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रिय महत्त्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभाबी सडकमा राख्दा सडकको स्वरूप नै बिग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो । अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको अर्को विकल्प छैन ।’ 

ज्ञवालीले प्राचीन कालदेखि काठमाण्डाैकाे खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताउनुभयो । भ्यु टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रूपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाइ छ ।

‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रूपमा सञ्चालनमा छ’, ज्ञवालीले भन्नुभयो, ‘अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाइ बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदनअनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताउनुभयो । 

‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदनअनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेका छन्’, शाहले भन्नुभयो, ‘हामीले पनि ठेकेदारलाई जति सक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । म अझै पनि उनीहरूसँग तुरुन्तै छलफल गरी जति सक्दो छिटो काम सम्पन्न गरी खुलामञ्च खुला गर्न निर्देशन दिन्छु ।’ उहाँले बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधीन अस्पतालभित्रै राखेर पनि गर्न सकिने रहेछ भने त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘हाम्रै परिसरभित्र निर्माण सामग्री राख्न सकिन्छ भने त्यो उपाय पनि गर्न हामी तयार छौँ’, उहाँले भन्नुभयो, ‘खुलामञ्च सार्वजनिक ठाउँ हो । त्यसको उपादेयता अझ बढेको अवस्थामा सक्दो छिटो खाली गर्ने प्रयास गर्नुको विकल्प छैन ।’ 

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी दिनुभयो । ‘हामी त्यहाँका सामग्री हटाउन सकारात्मक छौँ । निर्माणको काम अझै केही बाँकी रहेकाले र अझैसम्म कामदार त्यहाँ बसिरहेकाले केही समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘पार्किङ क्षेत्र हामी एक हप्ताभित्रै खाली गर्न तयार छौँ । मैले ठेकदारसँग पनि छलफल गरिसकेको छु । कोभिड, बजेट निकासामा भएको ढिलाइलगायतले समयमा काम सम्पन्न गर्न नसक्दा केही ढिलाइ भएको हो ।’ 

काठमाण्डाै महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि वीर अस्पताल र दरबार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेको भन्दै जति सक्दो छिटो खुला गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । ‘दरबार हाइस्कुलको हस्तान्तरण भइ पठन–पाठन सुरु भएको छ’, सापकोटाले भन्नुभयो, ‘वीरको पनि ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेपछि अब जतिसक्दो छिटो खाली गर्नुको अर्को विकल्प छैन ।’  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया