धरहरा बनाउन दिनुहोस्, चार/पाँच जना आउँछन्, ब्यानर राखेर जुलुस गर्छन् : मेयर शाक्य

 फागुन २५, २०७७ मंगलबार १६:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्त्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्युरोड व्यापार सङ्घको सातौँ महाधिवेशन तथा तेह्रौँ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्त्वले विभिन्न बहानामा धरहरा निर्माण काममा अवरोध पुर्‍याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताउनुभएको हो । 

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायी दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने उहाँले बताउनुभयो । धरहरा बनाउने क्रममा सबैभन्दा बढी गाली आफूले खाएको भन्दै उहाँले महानगर एकाध समूहको विरोध र नाराबाजी नअल्झेर योजनाबद्ध ढङ्गले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा, कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहाँका बासिन्दाहरू होइनन्, कहाँ–कहाँबाट आउँछन् । अवरोध गर्छन् । चार–पाँच जना आउँछन्, ब्यानर राख्छन्, जुलुस गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र यस क्षेत्र व्यावसायिक रूपले उकास्छ भन्ने सोचेका थियौँ । घरधनी र व्यवसायी दुवैलाई फाइदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबैभन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनाबद्ध ढङ्गले अघि बढेको छ । अघि बढ्छ ।’ 

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभइ सबैले आ–आफ्नै स्थानबाट जिम्मेवार रहेर दायित्वबोध गर्न पनि आग्रह गर्नुभयो । कोभिड–१९ को समयमा महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यकाबाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरिने र भित्रिने काम भएको स्मरण गर्दै उहाँले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उपत्यकाका सबैको व्यवस्थापन गर्छौँ भन्दा भन्दै धन भएको मन नभएको काठमाण्डौ भनेर न्युजमा आयो ।’ 

उहाँले कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम सुरु भइसकेकाले एकीकृत रूपमा अर्थतन्त्रलाई चलायमान बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

व्यावसायिक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उहाँले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गर्नुभयो । उहाँले सङ्घको नेतृत्व चयन गर्ने क्रममा हुने चुनावपछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्नेजस्ता मूल राजनीतिमा देखिए जस्तो दृष्य सङ्घमा नदेखियोस् भन्नेतर्फ पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको नाममा चुनाव लड्ने । पक्ष–विपक्ष, दुई वटा धार हुने, कहिले तीन धार हुने, जित्नेलाई हार्नेले असहयोग गर्ने । दुवै वा तीनै जना अध्यक्ष हुन लायक हुने । चुनावमा सबैले जित्न नसक्ने । जित्नेले हारेकोलाई कसरी समेट्ने ? हारेकोले जित्नेलाई कसरी सहयोग गर्ने ? त्यो व्यवस्थापन गर्न नसक्दा अहिले के–के दुर्दर्शा हामीले देखिरहेका छौँ । त्यस्तो रोग यहाँ नहोस् भनेर तपाईँहरूलाई ध्यानाकर्षण गराउन चाहन्छु । काम गर्नका लागि केही समस्या भए त्यसको व्यवस्थापन हामी गर्छौँ । सुझाव छ भने वडाध्यक्षमार्फत भने पनि हुन्छ, महानगरपालिकासँग यस्तो अपेक्षा छ भनेर । हामी व्यवस्थापन गर्न तयार छौँ । सुरक्षाको ग्यारेण्टी हामी दिन्छौँ । सुरक्षाको तपाईँहरू चिन्ता लिनुपर्दैन । ठूला–ठूला चोकमा सीसी क्यामेरा जडान गरिसकेका छौँ । व्यापारीहरूले पनि आ–आफ्नै ढङ्गले क्यामेरा जडान गर्नुभएको छ । तर तपाईँले राखेको सुरक्षा क्यामेरा मनोरञ्जनका लागि नहोस्, त्यो सूचना दुरुपयोग नहोस् ।’ 

मेयर शाक्यले व्यवसायीको हक, हित तथा व्यावसायिक वातावरण निर्माणका लागि महानगरपालिका सधैँ लागिपर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया