राजनीति गर्नेलाई खेती गर्नेको सल्लाह – हामीसँग सिक्नुहोस् !

 फागुन २६, २०७७ बुधबार १२:३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – एमाले र माओवादी मिलेर बनेको नेकपालाई सर्वोच्चले छुट्टयाउने फैसला गर्दा बाँके डुडुवाका ७७ वर्षीय ईसा साई आँगनमा बसेर खाट जोड्दै हुनुहुन्थ्यो ।

खेतीपाती र काठको काम गर्ने उहाँ बिग्रे भत्केको मर्मत गर्नुहुन्छ । नयाँ खाट र फर्निचर बनाउनुहुन्छ । एकसुरले आफ्नै काममा व्यस्त हुनुहुन्छ । कहिलेकाहीँ देश दुनियाँको हालखबर पनि सुन्नुहुन्छ । घर नजिकै वडा कार्यालय छ । त्यहाँ थरीथरीका मान्छे आइरहन्छन् । विकास निर्माणको भन्दा बढी राजनीतिको कुरा सुनिन्छ । 

वडा कार्यालयमा नौला मान्छे देख्दा र राजनीतिको कुरा सुन्दा ईसालाई चुनावको याद आउँछ । त्यतिबेला एमाले र माओवादी मिलेर भोट मागेका थिए । हामीले जित्यौं भने एकजुट भएर देशको विकास गर्छौं, गाउँठाउँको मुहार फेर्छौं भनेर भाषण गरेका थिए । गाउँका अरुलाईजस्तै ईसालाई पनि हो क्यारे जस्तो लाग्यो । एकपटक हेरौं न भनेर भोट दिनुभयो ।


‘त्यति धेरै पत्यार लागेको त थिएन, तर अब त केही गर्लान् कि भन्ने झिनो आशा भएर भोट दिएँ, तर फेरि हामीलाई धोका दिए’ खाटको खुट्टा जोड्दै ईसाले छुट्टिएका एमाले र माओवादीलाई सम्झनुभयो, ‘सबैलाई कुर्सी नै चाहिने भएपछि कसरी मिल्न सक्थे र ! आफू पनि भत्किए, हाम्रो आशा पनि भत्काए ।’

बिग्रेभत्केको फर्निचर मर्मतको काम गर्ने ईसालाई लाग्छ, आफूलाई ठूलो ठान्ने नेतालाई बनाउन र मिलाउन केही पनि आउँदो रहेनछ । ‘आफ्नै पार्टीको नाम मिलाउन र बनाउन नजान्नेले कसरी देश बनाउन सक्छन् त ?’ व्यंग्य मिसाउँदै उहाँले भन्नुभयो, ‘अब पुरानै अवस्थामा फर्किए रे, पुरानोबाट फेरि कहिले नयाँ अवस्थामा आईपुग्छन् र देश विकास गर्छन् त ?’

डुडुवासँगै जोडिएको बाँकेकै राप्तीसोनारी गाउँपालिकाका ६३ वर्षीय तारा प्रसाद दाहाललाई पनि राजनीति सम्झेर उदेक लाग्छ । देश दुनियाँको भविष्यको कुरा गर्ने नेताहरुलाई आफ्नै भविष्यबारे थाहा नहुने रैछ भनेर हाँसो उठ्छ । 

‘हामीलाई कुन बाली कहिले फल्छ, कुन सिजनमा के रोप्नुपर्छ मात्रै होइन अहिले लगाएको बालीले भविष्यमा कति उत्पादन दिन्छ भन्ने सबै थाहा हुन्छ’ दाहालले हाँस्दै भन्नुभयो, ‘हाम्रा नेताहरुलाई त आफ्नै नाम र घरको पनि भर हुँदो रहेनछ ।’

दाहालको घर नजिकै ठूलो फाँटमा लहलह गहुँ फल्न लागेको छ । ‘यही बेला गहुँ फल्छ भन्ने जानेरै मंसिरमा छरेको हो, बेलाबेला जलमल र गोडमेल गरेपछि बेलैमा गहुँ फल्न थाल्यो’ खेतीलाई राजनीतिसँग जोड्दै उहाँले भन्नुभयो, ‘राजनीति गर्नेले पनि कुनबेला के हुन्छ भन्ने जान्नुपर्छ, त्यसैअनुसार काम गर्नुपर्छ ।’

उहाँले ठट्टा गर्दै थप्नुभयो, ‘प्रचण्डसँग थर मिल्यो भनेर पहिले कति खुशी लाग्थ्यो, तर मलाई जति पनि उनलाई थाहा रहेनछ । ओली पनि त्यति मन त पर्दैन, तै पनि उनलाई राजनीतिमा कसैले सक्दो रहेनछ ।’

हाँसीमजाक र ठट्टा गर्न सिपालु दाहाल खेतीपातीसँगै पुरोहितको काम गर्नुहुन्छ । गाउँघरमा काजकर्म गर्नु पर्‍यो भने सबैले उहाँलाई सम्झन्छन् । भर्खरै जन्मेको बच्चाको नाम राखिदिनुहुन्छ । उमेर पुगेकाको विवाह गरिदिनुहुन्छ ।

‘मैले नाम राखेका बच्चाको अहिलेसम्म नाम फेर्नु परेको छैन, जोडी बाँधेकाको विवाह भत्केको छैन’ ठट्टा गर्दै उहाँले भन्नुभयो, ‘जोडी कसरी बाँध्ने, नाम कसरी राख्ने भनेर नेताहरुले मलाई सोधे हुने नि !’

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया