नेपालमा हरेक वर्ष मिर्गाैलाका बिरामी बढ्दै, स्वस्थ्य व्यक्तिले पनि नियमित जाँच गरिरहन सुझाव

 फागुन २७, २०७७ बिहीबार १०:५७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आज (बिहीवार) अन्तर्राष्ट्रिय मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गाैलाले काम नगर्ने हुने डाक्टरको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको डाक्टरले बताएका छन् ।

नेपालमा हरेक वर्ष तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको देखिएकाे छ । नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरको सुझाव छ । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ ।

केही वर्ष अघिसम्म मिर्गाैला रोगको उपचार तथा प्रत्यारोपण गर्न नेपाली नागरिक भारतलगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा धेरैको प्रत्यारोपण गर्दै आएको छ । केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गाैला प्रत्यारोपण हुने गरेकोमा अहिले स्थगित भएको छ ।

नेपालमा वीर अस्पतालबाट सन् १९९८ देखि पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो । अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया