पर्यटकीय केन्द्रको विविधता झल्किने गरि संरचना निर्माण गर्न सांसदहरुकाे सुझाव

 फागुन २९, २०७७ शनिबार १५:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांसदहरुले पर्यटकीय गन्तव्य केन्द्र निर्माण गर्दा त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक तथा कला संस्कृति र परम्परा झल्कने संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

सात प्रदेशका पर्यटकीय गन्तव्यहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हिजाे गरेको छलफलमा समिति सदस्यहरुले सातवटै पर्यटकीय केन्द्रको विविधता झल्कने गरि संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटकीय केन्द्र निर्माण गर्ने प्रतिस्पर्धामा आफ्नो क्षेत्रीय विशेषतालाई बिर्सेर नक्कल गर्दा सबै प्रदेशमा एकै किसिमको संरचना बन्ने र त्यो संरचना पर्यटकका लागि आकर्षक थलो बन्न नसक्ने धारणा सदस्यहरुले राखेका छन् ।

समिति सदस्य राम कार्कीले उद्देश्य र लक्षित वर्गलाई केन्द्रविन्दुमा राखेर संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पर्यटकले प्रयोग गर्ने सबै कुराहरु विदेशबाट आयात गरेर नेपालको पर्यटन र अर्थतन्त्रको विकास हुन नसक्ने भएकाले स्थानीय उत्पादनका परिकार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले आतिथ्य सत्कारका सवालमा पनि विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । 

यस्तै समिति सदस्य रेनुका गुरुङ्गले स्थानीय सरकारसँग समन्वय गरी सरकारले पर्यटन केन्द्र निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आन्तरिक सँगै विदेशी पर्यटकको आकर्षक शहरहरुमा भौतिक पूर्वाधारको अभाव, पर्यटकको स्वास्थ्य तथा आन्तरिक सुरक्षा, पर्यटकीय क्षेत्रलाई प्रदुषण मुक्त बनाउन नसक्नु, होटल ट्राभल र टुर अपरेटरबीच आवश्यक सञ्जाल र समन्वयको अभाव लगायतले पर्यटन क्षेत्रको विकासमा खुला चुनौति थपेको भन्दै त्यसको निराकरणका लागि पर्यटन मन्त्रालय सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी समिति सदस्य प्रेम तुलाचनले केन्द्रबाट मिलेमतोमा टेण्डर गर्ने कार्यशैलीका कारण हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिन नसकेको बताउनुभयो । उहाँले ठेकेदार र पर्यटन विभागका कर्मचारीहरुको मिलेमतोमा सोही अनुसारका अवस्था राखेर टेण्डर आव्हान गर्दा स्थानीय विकास निर्माण व्यवसायीले दरखास्त सम्म दिन नसक्ने अवस्था रहेको गुनासो गर्नुभयो ।

धार्मिक एवं पर्यटकीय क्षेत्रको आवश्यक ढंगले विकास हुन नसक्नुमा पुरातत्व विभाग, पर्यटन बोर्ड पर्यटन, पर्यटन विभाग लगायत सम्बन्धित निकायबीचको समन्वय अभाव मुख्य कारक रहेको तर्क उहाँले गर्नुभयो । उहाँले अन्तरसम्बन्धित निकायहरुले आ–आफ्नो ढंगले योजना बनाउने र ती योजनाबीच एकीकृत समन्वय हुन नसक्दा समस्या भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी समिति सदस्य उमा रेग्मीले पर्यटनको आतिथ्य सत्कार, सुरक्षामा लगायतमा चुनौति देखिएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आन्तरिक पर्यटकलाई मोटिभेसन र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताउनुभयो । समिति सदस्य दिपक प्रकाश भट्टले धार्मिक पर्यटकीय स्थलहरुलाई लक्षित गरि अर्थतन्त्रलाई टेवा पुग्ने किसिमको व्यवस्थापन र प्रबन्ध गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभापति पवित्रा निरौला खरेलले आफ्नो देशको विशेषता अनुसारको नीति निर्माण र संरचना विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सात वटै प्रदेशमा एउटा पर्यटक गन्तव्य केन्द्र निर्माण गर्ने लक्ष्य अघि सार्दै गर्दा पर्यटन बोर्ड, पर्यटन विभाग ,पुरातत्व विभाग र पर्यटन मन्त्रालय मिलेर त्यस सम्बन्धी स्पष्ट र ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया