नेपाल पक्षका सांसदको राजीनामा टर्‍याे, ‘ओलीसँगको छलफल सकारात्मक’– नेपाल

 वैशाख ३०, २०७८ बिहीबार १८:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसाे बूढानीलकण्ठमा एक व्यवसायीकाे घरमा छलफल भएको थियो ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा केही दिनका लागि टरेको जानकारी दिनुभयो । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ ।

बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षका सांसदले आजै चार बजे राजीनामा दिने चेतावनी दिए पनि ओली र नेपालको भेटवार्ताका कारण राजीनामा टरेको छ । 

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । दुई नेताबीच भएकाे भेटघाटमा पार्टीभित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

नेता नेपालले भन्नुभयो, ‘हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टीभित्रको समस्याको बारेमा हामीले आफ्नो–आफ्नो सोचाइ राख्यौँ । वैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपछि भएका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने र पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने भन्नेबारेमा छलफल गरिरहने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्‍याे । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।’ 

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा र पार्टीभित्र महत्त्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया