नेपाल–खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै टिप्पणी गर्न चाहन्नँ : प्रचण्ड

 वैशाख ३१, २०७८ शुक्रबार १७:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेकाे नेपाल–खनाल समूहबाट धाेका भयाे भनेर अहिले नै टिप्पणी गर्न नचाहेकाे बताउनुभएकाे छ । सरकार गठनमा नेकपा एमालेको नेपाल–खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उहाँले धोका भयो भनेर अहिले नै टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनुभएकाे हाे । 

यस्तै उहाँले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको सङ्घर्ष चलिरहने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लाग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुनः प्रधानमन्त्री बनेपछि प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताउनुभएको हो ।

उहाँले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा निरन्तर सङ्घर्ष गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढङ्गले अघि बढ्छौँ । संविधान र लोकतन्त्रको रक्षाका निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो सङ्घर्ष चलिरहन्छ ।प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । नागरिकलाई राहत दिने र संविधान र देश बचाउको पक्षमा हामी निरन्तर सङ्घर्षमा हुन्छाैँ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्नँ । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौँ । उहाँहरू भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफु पनि संविधान र लोकतन्त्रको पक्षमा सङ्घर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा सङ्घर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’ 

नेता दाहालले असंवैधानिक ढङ्गले हुने चुनावकाे विरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, संवैधानिक ढङ्गले हुने कुनै पनि चुनावकाे निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो ।  संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया