इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
पुस ७, २०८१ आइतबार
आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमा रहेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ भन्ने वाक्यप्रति धेरैले आशङ्का गरेका छन् । चुरे पहाडमा खानी सञ्चालन हुने र यसले तराई-मधेशमा गम्भीर असर गर्ने वातावरणविद्हरुको शङ्का छ ।
ढुङ्गा, गिट्टी, बालुवा निकासीको कुराले चुरेको चर्चा चुलिएको छ । सरकारले चुरेमा नभइ अन्यत्रका पहाडमा खानी सञ्चालन गर्ने स्पष्टीकरण दिए पनि विज्ञहरु चुरेलाई लिएर चिन्ता गरिरहेकै छन् । चुरेप्रति किन यति धेरै चिन्ता भएको हो त ? भोजेन्द्र बस्नेतले त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका सहप्राध्यापक डाक्टर सुबोध ढकालसँग यो विषयमा कुराकानी गर्नुभएको छ । भूगर्भविद डाक्टर ढकाल चुरे पहाडको पहिरो अनुसन्धान तथा विपद् अध्ययनकर्ता पनि हुनुहुन्छ ।
चुरे पहाडको चर्चा चुलिएको छ । चुरे भन्नाले कुन क्षेत्रलाई चिनिन्छ ?
चुरे भन्नाले नेपालको दक्षिणतर्फको सबैभन्दा पहिलो पहाड हो । झण्डै चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो । यो सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो । चुरे पूर्वमा इलामदेखि पश्चिममा डडेल्धुरासम्म ३६ वटा जिल्लाहरूमा आठ सय किलोमिटर लम्बाइ र १० देखि ५० किलोमिटर चौडाइमा फैलिएको छ । धेरै छिटो गल्ने र बग्ने प्रकृतिको चुरे जैविक विविधतादेखि लिएर तराईमा पानीको मुख्य स्रोतका रुपमा रहेको छ ।
चुरेको चर्चा बारम्बार हुन्छ । यो नभए तराई-मधेशको अस्तित्व नै सङ्कटमा पर्ने कुरा गरिन्छ । यति धेरै चर्चा हुने चुरेको विशेषता के हो ?
चर्चा हुनुको मुख्य कारण यसको कमजोर भूबनोट नै हो । सबैभन्दा पछि बनेको र माथिबाट बगेर आएका वस्तु थुप्रिएको कारण यो सामान्य बदलावमा पनि बग्न सक्छ । यसले तल्लो क्षेत्रमा असर पार्ने भइहाल्यो । अर्को कुरा हिमालय क्षेत्रबाट बगेर आएका नदीहरु यही पहाड हुँदै दक्षिणतर्फ गइरहेका छन् । चुरेमा क्षति पुगेमा नदीहरुले थप क्षति गर्नेछन् । यसरी सम्भावित विपद्को हिसाबले यसलाई संवेदनशील मानिन्छ भने जैविक विविधताका दृष्टिबाट पनि यो उत्तिकै महत्त्वपूर्ण छ । यहाँ प्रशस्त वनजङ्गल छन् । जैविक विविधता रहेको र रहन सक्ने सम्भावना रहेको ठाउँ हो ।
यस्तै तराईका लागि पानीको भण्डार यही चुरे पहाड हो । चुरे पहाडले सोसेको पानी तराई-मधेशको जमिनमुनि पुग्छ र त्यहाँ इनार, ट्युबवेलमा सजिलै पानी निस्कन्छ । तराईको माटो मलिलो हुन पनि यसको भूमिका छ । यदि चुरे मासिने हो भने तराईमा सुख्खा लाग्न सक्छ । यसले जीविकोपार्जन समस्यामा पर्छ भने विपत्तिका सम्भावना त छँदैछन् । यसैगरी चुरेले तराई र पहाडी क्षेत्रमा पनि पानी पार्ने क्रमलाई सन्तुलनमा राखेको छ । यहाँको जङ्गल र बनोटले उपयुक्त वर्षामा भूमिका खेलेको छ ।
तराई-मधेशभन्दा बाहेकका क्षेत्रका लागि चाहिँ चुरेको महत्त्व के रहेको छ ?
हामीले अघि नै चर्चा गरेका छौँ यसले नेपालमा हुने वर्षालाई सन्तुलन गर्न चुरे क्षेत्रको भूमिका छ । यो भनेको तराई-मधेश मात्र नभएर पहाड र हिमाली क्षेत्रका लागि पनि हो । यसले बढ्दो जलवायु परिवर्तनको प्रभावलाई कम गर्न भूमिका खेलिरहेको छ । यस्तै हाम्रो देशको बनावट हेर्दा चुरेको उत्तरतिर महाभारत शृङ्खला छ । त्योभन्दा माथि तल्लो अथवा माथिल्लो हिमालय पर्वतमालाहरु छन् । यी सबैले एकले अर्कोको बुई चढेको अवस्था छन् । यदि तलकोलाई क्षति पुग्यो भने त्यो भन्दा माथिको सुरक्षित हुने कुरै भएन । समस्या माथितिर बढ्दै जान्छ । त्यसैले यो सीमित क्षेत्रभन्दा देशकै लागि महत्त्वको क्षेत्र हो ।
सरकारले नयाँ बजेटमा वातावरण प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने भनेको छ । यो निर्णयले चुरेलाई छुने देख्नुभएको छ कि छैन ?
यो विषयलाई दुई कोणबाट हेर्नुपर्छ । एउटा प्राविधिक विषय छ । अर्को सामाजिक–राजनीतिक लगायतका अरु विषयहरु छन् । खानीजन्य ढुङ्गा, गिट्टीको कुरा आएकोले देशमा सबै अवस्था राम्रो भएको भएमा वा एकले अर्कोलाई विश्वास गर्ने वातावरण भएको भएमा वा त्यहाँ भएको कुरालाई मात्र हेर्ने हो भने त त्यो निर्णयले चुरेलाई छुन्छ भन्ने लाग्दैन । तर अहिलेसम्मको जुन चलन छ, नियमनका जुन आधारहरु छन्, पालिका सरकारहरुले नदीजन्य वस्तुको प्रयोग गरिरहेका उदाहरणहरुलाई हेरेर मानिसले विश्वास गरिरहेका छैनन् । प्राविधिक रुपमा चुरेलाई छोएको छैन र सरकारी व्यक्तिहरुले त्यही आधारमा बचाउ गरिरहेका छन् ।
खानीजन्य ढुङ्गा, गिट्टी उत्खननको जुन कुरा छ यसले चुरेलाई छुँदैन भन्ने आधार के हो ?
पहिलो कुरा निर्णयमा चुरे क्षेत्र भनिएको छैन । र महत्त्वपूर्ण कुरा खानीजन्य वस्तु भनेकोले यसलाई प्राविधिक रुपमा चुरेलाई छुँदैन । किनकी चुरेमा खानीजन्य उत्खननको कुनै सम्भावना नै छैन । किन भने त्यहाँ त एकदमै कमलो चट्टान छ, भर्खरका चट्टान छन्, नखाँदिएका चट्टानहरु छन् । त्यहाँ बलिया चट्टान नभएकोले हामीले तिनीहरुलाई निर्माण सामग्रीका रुपमा उत्खनन गरेर प्रयोग गर्न सक्ने सम्भावना कम रहन्छ । यस कारण प्राविधिक रुपमा चुरेलाई छुँदैन भनेको हो । तर अघि भनिएको जस्तो अहिलेको हाम्रो जुन चलन र काम गराई छ यसले विश्वस्त हुन नसकिएकै कारण अहिले विरोध र चर्चा भएको छ यो जायज पनि छ ।
चुरेमा खानीजन्य उत्खननको सम्भावना नरहेको भन्नुभयो, नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा लगायत सङ्कलनको सम्भावना चाहिँ छ कि छैन ?
नदीजन्यको सम्भावना छ । चुरेमा खानीजन्य उत्खननको सम्भावना छैन र खोज्नु पनि हुँदैन । यदि हामीले चुरे र चुरे नजिक खानीजन्य उत्खननको सम्भावना खोज्यौँ भने त्यसले ठूलो विपत्ति ल्याउन सक्छ । तर चुरेबाट वा चुरे हुँदै बहने खोलाहरुमा भने ढुङ्गा, गिट्टी, बालुवा लगायतको प्रचुर सम्भावना रहेको छ । चुरेकै क्षेत्रमा पनि कतिपय नदीहरुमा ढुङ्गा, गिट्टी, बालुवा लगायत थेग्रान जम्मा भएकोले त्यसलाई निकाल्न सकिन्छ । त्यो निकाल्नु आवश्यक पनि छ । किनभने नदीमा थेग्रान बढ्दै जाँदा नदीको सतह माथि आउँछ र त्यसले डुबानको जोखिम बढाउँछ । कतिपय नदीमा जथाभाबी उत्खननबाट त कतिपय नदीका थेग्रान ननिकाल्दा जोखिम बढेको हामीले देखिरहेकै छौँ । त्यसैले चुरे आसपासमै रहेका वा त्यहाँबाट तल पुगेका नदीबाट नियमित रुपमा थेग्रानहरु निकालेर प्रयोग गर्नुपर्छ ।
अहिले नदीजन्य वस्तु सङ्कलनमा जुन किसिमको असामान्य गतिविधि छ त्यसलाई रोकेर व्यवस्थित र सही नियमनका साथ नदीबाट त्यस्ता वस्तु निकाल्नुपर्छ । यसले हामीलाई निर्माणजन्य सामग्री उपलब्ध हुन्छ भने डुबान लगायतको जोखिम पनि कम हुन्छ । तर यसको जिम्मा अहिले नै पालिकाहरुलाई दिन मिल्दैन । उनीहरुसँग यसको लागि उपयुक्त जनशक्ति छैन भने कतिपय ठाउँमा लाभका कुरा पनि आउँछन् त्यसैले यस्ता नदीहरुमा सङ्घीय सरकारकै निगरानीमा नियमित थेग्रान निकाल्ने काम गर्नुपर्छ ।
सरकारले भनेको जस्तो चुरे बाहेकको क्षेत्रमा चाहिँ खानीजन्य उत्खनन र निकासीको कुराको सम्भावना चाहिँ तपाईँ कतिको देख्नुहुन्छ ?
निकासी गर्ने भन्ने कुरा त अपरिपक्व कुरा हो । निकासी गर्ने वा त्यसबाट व्यापारघाटा कम गर्ने भन्ने कुरामा त हामी जानै हुँदैन । हामीले गर्ने भनेको चाहिँ अहिले जसरी अनियन्त्रित हिसाबले नदीजन्य उत्खनन भइरहेको छ त्यसलाई नियन्त्रणका लागि खानीजन्य उत्खनन गर्नुपर्छ । महाभारत पर्वत शृङ्खला अन्तर्गत केही त्यस्ता पहाड छन् जहाँ धेरै पर्यावरणीय क्षति विना पनि गुणस्तरीय निर्माण सामाग्री निकाल्न सकिन्छ । त्यस्ता ठाउँको पहिचान गरी उचित नियमनका साथ खानी सञ्चालन गर्नुपर्छ । अहिले विज्ञहरुबाट प्राकृतिक स्रोतका सम्बन्धमा फरक-फरक विचारहरु आइरहेका छन् ।
एकाथरी एउटा ढुङ्गो प्रयोग गर्ने कुरामा पनि फरक मत राख्छन् भने एकाथरी चरम दोहन हुँदा पनि प्रयोगको सिद्धान्त भन्छन् । यी दुवै अतिवादीबाट पर रहेर मानिसले प्राकृतिक वस्तुको बुद्धिमतापूर्ण प्रयोग गर्नुपर्छ भनेर मैले भन्ने गरेको छु । हामीलाई निर्माण सामग्री चाहिन्छ त्यसैले उत्खनन आवश्यक छ । अहिले जसरी जथाभाबी नदीजन्य वस्तु उत्खनन भइरहेको छ त्यसलाई नियन्त्रण गर्न खानीजन्य उत्खनन हुनुपर्छ । तर चुरेमा खानीजन्य उत्खनन वर्जित हुनुपर्छ । चुरे हुँदै बग्ने नदीहरुमा व्यवस्थित रुपमा आवश्यकता अनुसार थेग्रान सङ्कलन हुनुपर्छ । अहिले निर्माण सामग्री उत्खनन, सङ्कलन तथा व्यापारमा जुन बेथिति छ त्यो रोक्न सरकार जिम्मेवार हुनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।