काठमाण्डौ उपत्यकामा आज रातिदेखि थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ ? के पाइँदैन ?

 जेठ ३१, २०७८ सोमबार ७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा केही सहज व्यवस्थासहित थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि लागू हुँदैछ । यसअघि जेठ मसान्तसम्म निषेधाज्ञा रहेकोमा काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थपेर असार ७ गतेसम्म पुर्याएको हो ।

थपिएको निषेधाज्ञाका समयमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघि यस्ता पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । यस्तै पुस्तक पसल तथा प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै, अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा पनि बेलुकी सात बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । गाडी मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

विकास निर्माणजन्य सामग्रीहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर लगायतका पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने भएको छ । यस्तै राति नौ बजेदेखि बिहान ५ बजेसम्म निर्माणजन्य सामग्री ढुवानी गर्न पाइने भएको छ । औषधि लगायतका मेडिकलजन्य अत्यावश्यक सेवाका पसलहरु यसअघि झै खोल्न पाइने छ ।

कृषिफर्म तथा कृषिजन्य वस्तुहरुको किनबेच र ढुवानीमा सहजीकरण गरिने निषेधाज्ञा आदेशमा भनिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सीमित कार्यालय मात्रै खोल्न पाइने थियो ।

बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । विवाह, व्रतबन्ध लगायतका कार्यक्रम बढीमा सात जना सहभागी भएर घर वा आफू बसेकै ठाउँमा गर्न पाइने छ । जसको लागि एउटा गाडी प्रयोग गर्न पाइने छ । निजी तथा सार्वजनिक यातायात असार ७ गतेसम्मकै लागि बन्द रहनेछन् ।

भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम बन्द रहनेछ । भौतिक उपस्थितिमा सभा–सम्मेलन गर्न पाइने छैन । होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतमा लगाइएको प्रतिबन्ध यसअघिकै निरन्तर छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया