सिन्धुपाल्चोक बाढी अपडेट : नदीमा पानीको बहाव घटेपछि केही राहत

 असार ३, २०७८ बिहीबार ११:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेककाे इन्द्रावती नदीमा मङ्गलवारदेखि आएको बाढीका कारण  हिजाे डुबानमा परेपछि आफ्नो सामान सुरक्षित ठाउँतर्फ सार्दै स्थानीयवासी ।

काठमाण्डाै - वर्षा कम भएपछि सिन्धुपाल्चोकका बाढी पीडितलाई थोरै भए पनि राहत भएको छ । नदीमा पानीको बहाव कम भएसँगै उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री ओसार्न थालेको छ । 

बाढीबाट विस्थापितहरू विद्यालय र सामुदायिक भवनमा बसेका छन् । आज बिहान काठमाण्डौबाट सेनाको हेलिकप्टर गएपछि मेलम्चीमा राखिएको राहतका सामग्री हेलम्बुमा पुर्‍याइएकाे छ । ‘अहिले हेलिकप्टरमार्फत दुई पटक हेलम्बुमा राहत पुर्‍यायाैँ, आज दिनभरि पनि आवश्यकताअनुसार त्यहाँ उद्धार तथा राहतको काम हुनेछ’,  उद्धारमा खटिनुभएका सेनाका निर्मल श्रेष्ठले भन्नुभयो । 

बाढीपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । एनसेल नम्बरमा फोन लागे पनि नेपाल टेलिकमको सेवा बन्द छ । सञ्चार सम्पर्क विच्छेद हुँदा बाढीबाट भएको क्षतिबारे पूर्ण जानकारी आउन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मङ्गलवार बेलुका हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो गइ नदी थुनिएर बाढी आउन सुरु भएको थियो । बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका-३ को भोताङको लार्केमा पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् । मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । 

बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएकाे छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्म सबै बगरमा परिणत भएका छन् । हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा धेरै असर परेको छ ।

तस्बिर : रासस  

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया