पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

 असार ४, २०७८ शुक्रबार ६:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकाश मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराइने बैंकले जनाएकाे छ। 

यो खाताले निवृत्तिभरण पाइरहनु भएका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थ्योपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखेर आफ्नो इच्छाअनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत सुरूमा तोकेकै मुद्दती निक्षेपको ब्याज प्राप्त हुनेछ । 

ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङ्ग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम २ लाख रुपैयाँसम्म) सुलभ ब्याजदरमा कर्जा लिन सकिने बैंकले जनाएकाे छ । 

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको​ व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भए तापनि तत्काल बाँकी रहेको साँवा र ब्याज रकम भुक्तानी दिने याेजना रहेकाे छ ।

यसका साथै बैंकले यस योजनामा आबद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधाहरु उपलब्ध गराउने छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया