प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : रिट निवेदक पक्षको बहस सकियो, सरकार पक्षका वकिलकाे बहस भाेलिदेखि

 असार १३, २०७८ आइतबार १६:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको सुरुवाती बहस आज सकिएको हो । बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

संवैधानिक इजलासमार्फत भएको सुरुवाती बहसमा निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा बहस गरेका छन् । बाँकी तीन घण्टा भने रिट निवेदकको विपक्ष अर्थात् सरकार पक्षका कानुन व्यवसायीले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विरोध जनाएका थिए । प्रतिनिधि सभा पुनर्स्थापना गरेर संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि हालतमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने उनीहरूको तर्क थियो ।

आज रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतीशकृष्ण खरेल, अधिवक्ता  भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । अब रिट निवेदकको विपक्ष अर्थात् सरकार पक्षका कानुन व्यवसायीहरुले भोलिदेखि बहस गर्नेछन् । उनीहरूले १५ घण्टाको समय पाउनेछन् ।

त्यस्तै एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ । सरकार पक्षबाट महान्यायाधिवक्तासहित ११ अधिवक्ताले बहस गर्ने तय भएको छ । रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस सकिएसँगै आजका लागि तोकिएको इजलासको सुनुवाइ पनि सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद\ विघटन मुद्दाको पक्ष र विपक्ष दुवै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया