प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा सरकारी पक्षको बहस आजदेखि

 असार १४, २०७८ सोमबार ७:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदैछ । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस हिजो सकिएपछि आजदेखि सरकारी अर्थात रिटको विपक्षी तर्फको बहस सुरु हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बहस हुनेछ । पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ ।

निवेदक पक्षका वकिलहरुले बहसको क्रममा बहुमत सांसद पक्षमा रहेको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर आदेश दिन माग गरेका छन् । वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको उनीहरुको तर्क छ ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति कार्यालयमा पेस गरिएको प्रस्ताव तथा सर्वोच्च अदालतमा रिट दर्ता गरेका विघटित प्रतिनिधि सभाका एक सय ४६ सांसदलाई पनि वैकल्पिक सरकार गठनको आधारका रुपमा उल्लेख गरेका छन् । रिट निवेदकका कानुन व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया