नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
बझाङ – चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्खायाममा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालको हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयवासी दैनिक ज्यालादारी काम, खाद्यान्न र तरकारीलगायत दैनिक उपभोगका सामग्रीदेखि लत्ता कपडा र व्यापार–व्यवसायका लागि पनि तिब्बत आकर्षक गन्तव्य बन्दै गएको छ ।
चीनको ताक्लाकोटमा बझाङ, मुगु, डोल्पा, हुम्ला र दार्चुलाका गरी झन्डै दुई सय नेपाली व्यवसायी छन् । ताक्लाकोट बजारमा नेपालीले वर्षाैँदेखि हातेहोजियारीका सामान, नेपाली गलैँचा, बाँस, निँगालो, छाला र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान पनि चौँरी, भेडा र खच्चडमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेका छन् । कोही आफैँ त कोही भेडा, च्याङ्ग्रा र चौँरीमार्फत भारी बोकेर राम्रै आम्दानी गरिरहेका थिए । तर कोभिड १९ (कोरोना) कहरसँगै तिब्बतको ताक्लाकोट बजार बन्द भएपछि उनीहरूको रोजगारी खोसिएको छ ।
बझाङको साइपाल गाउँपालिका २ धलौनका मिलन धामी वैशाखको अन्तिम हप्तातिर साथीसँगै कामका लागि तिब्बत जाने गर्नुहुन्थ्यो । यो समयमा उहाँलाई काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । तर दुई वर्ष भयो, कोरोनाका कारण चीन सरकारले नेपालीहरूको प्रवेशमा रोक लगाएपछि कोही जान नपाएका हुन् । तिब्बतमा गरेको कमाइले परिवार पाल्ने गर्नुभएका धामी तिब्बतको रोजगारी गुमेपछि उहाँ अहिले यार्सागुम्बालगायतका जडीबुटी सङ्कलन गरिरहनुभएको छ ।
तिब्बतमा रहेको पुराङ जिल्लामा बर्खायाममा मालवाहक गाडी लोड–अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने, इँटा बनाउने काम गर्दै आउनुभएका धामीले महिनामा ८० हजार रुपैयाँ बराबर कमाउनु हुन्थ्यो । तिब्बतमा ज्याला मजदुरीको काम गर्दा दैनिक एक सय २० देखि एक सय ५० युआन (१९ सयदेखि २५ सय नेपाली रुपैयाँ) सम्म कमाइ हुने धामी बताउनुहुन्छ । तर विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण उहाँको रोजगारी खोसियो ।
‘भन्सारमा भारी वारपार गर्नेदेखि उच्च हिमालमा फल्ने बाली जौ काट्ने र चुट्ने काम पाइन्थ्यो । चार महिनाको अवधिमा आफ्नो खर्च कटाएर एक जनाले पाँच लाख रुपैयाँसम्म कमाउँथ्यो । हामी ताक्लाकोट जान थालेको चार वर्ष भएको थियो । गएको वर्षदेखि फैलिएको कोरोना सङ्क्रमणका कारण चीन सरकारले प्रवेश निषेध गरेपछि जान पाएका छैनौँ’, मिलन धामीले भन्नुभयो ।
हुम्लाको सर्किगाड गाउँपालिका २ का भक्ति बुढाका तीन सयभन्दा धेरै भेडा, च्याङ्ग्रा छन् । उहाँ नेपालबाट ताक्लाकोटमा व्यवसाय गर्दै आएका नेपाली व्यापारीका सामान भेडा, च्याङ्ग्रामार्फत ताक्लाकोटसम्म पुर्याउने गर्नुहुन्छ । भेडा–च्याङ्ग्रामार्फत मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान ताक्लाकोटमा पुर्याउँदै आउनुभएका बुढासँग ताक्लाकोटमा राम्रै कमाइ हुने गरेको अनुभव छ ।
उहाँले भन्नुभयो, ‘भेडा–च्याङ्ग्रामार्फत ताक्लाकोट सामान पुर्याउन आठ दिनसम्म लाग्छ । एक चोटि ताक्लाकोट सामान पुर्याउन सके एक लाख रुपैयाँभन्दा बढी बचत हुन्छ । ताक्लाकोटबाट पनि नेपालतिर सामान ल्याउन पाए राम्रै कमाइ हुन्छ । तिब्बततिर कमाइ राम्रो हुन थालेपछि दुई जना भेडा–च्याङग्रा हेरालु पनि राखेँ । तर गएको वर्षदेखि फैलिएको कोरोना सङ्क्रमणका कारण ताक्लाकोट जान पाएको छैन । अझैसम्म ताक्लाकोटमा नेपालीलाई प्रवेश गर्न नदिँदा हाम्रो त रोजगारी नै खोसिएको छ ।’ ताक्लाकोट जान नपाएपछि भेडा–बाख्रा चराउन र जडीबुडी सङ्कलन गर्न साइपाल पुगेको उहाँको भनाइ छ ।
नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि सीमा क्षेत्रबाट ३० किलोमिटरसम्मको दुरीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रवेश अनुमति पत्रले प्रवेश गर्न दिइने व्यवस्था छ । प्रवेश सहज भएका कारण यस क्षेत्रमा धेरै नेपालीले काम गरिरहेका छन् । एक त भिसा लगाउनु नपर्ने र अर्को पैसा पनि कम खर्च हुने हुँदा राम्रो बचाउन सकिन्छ । मन लागेका बेला घर फर्किन सजिलो हुने र भिसाको पनि कुनै समस्या नहुने हुँदा खाडी देशभन्दा ताक्लाकोटमा आकर्षण बढेको उनीहरूको भनाइ छ । विभिन्न भौतिक संरचना निमार्णका कामले तीव्रता पाएसँगै यो क्षेत्र सीमावर्ती जिल्लाका नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको छ ।
ताक्लाकोटसहित नजिकैका लुक्पु, खोचेर, लुकोट आदि ठाँउमा नेपालीले मजदुरीको काम गर्दै आएका छन् । स्थानीय प्रशाशनले प्रत्येक तीन महिनामा नवीकरण गर्ने गरी दिने कामदार अनुमति पत्रको व्यवस्था सहज भएका कारण पनि आकर्षण बढेको उनीहरू बताउँछन् । सबैभन्दा धेरै हुम्ला, दार्चुला र बझाङबाट दक्ष र अदक्ष कामदारका रूपमा आउने गरेका पुराङ जिल्ला पब्लिक सेक्युरिटी ब्युरोले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।