नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थ मन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।
कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ’, उहाँले भन्नुभयो, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ उहाँले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/०७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अहिले सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड रुपैयाँ छ । कोषको दायित्व चार अर्ब ६७ करोड रुपैयाँ रहेकोे छ ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरूका लागि सात हजार पाँच सय रुपैयाँका दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परि ज्यान गएमा वा पूर्ण अङ्गभङ्ग भएमा दुई लाख रुपैयाँ प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा ज्यान गएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा एक लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।
वि.सं. २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं. १९९१ मा सैनिक द्रव्य कोष, वि.सं. २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र वि.सं. २०१७ मा सञ्चय कोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।