विश्व बैंकबाट नेपाललाई थप सहयाेग चाहिन्छ : अर्थ मन्त्री शर्मा

 असोज ४, २०७८ सोमबार १७:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराइ आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ’ उहाँले भन्नुभयो । 

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र ‘रोड कनेक्टिभिटी’ को माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो ।

भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया