बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

 फागुन १३, २०८१ मंगलबार १५:१५:७ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

साथै दिउँसो कफी पिउनेहरूको तुलनामा बिहान कफी पिउनेहरूमा मृत्युको जोखिम कम रहेको पाइएको छ । तर यस अध्ययनमा कफी नै यसको कारण हो भन्ने प्रमाणित हुन नसकेको खबरमा उल्लेख छ ।

ट्युलेन युनिभर्सिटी ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. लु चीले अध्ययनले बिहान कफी पिउनाले मृत्युको जोखिम किन कम गर्छ भन्ने कुरा भने नखुलाएको बताउनुभयो ।

दिउँसो वा साँझमा कफी पिउनाले ‘सर्काडियन’ लय अर्थात् हाम्रो शरीरमा हुने शारीरिक, मानसिक र व्यवहारमा हुने परिवर्तनको २४ घण्टाको चक्र र मेलाटोनिन जस्ता हर्माेनको स्तरमा बाधा पुग्न सक्ने अध्ययनको सम्भावित व्याख्या छ । यसले हृदय रोगको जोखिम कारकहरूमा परिवर्तन निम्त्याउने अनुसन्धानकर्ताले बताएका छन् ।

यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ । डा. चीले अध्ययनको निष्कर्ष अन्य मानिसहरूका लागि सही छ कि छैन भनेर हेर्न थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । कफी पिउने समय परिवर्तनको सम्भावित प्रभाव बुझ्नका लागि क्लिनिकल परीक्षणहरू सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

न्यु अर्लिन्सको टुलेन युनिभर्सिटीका अन्वेषकहरूले सन् १९९९ र २०१८ को बीचमा अमेरिकामा राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षणमा भाग लिने ४० हजार सात सय २५ जना वयस्कहरूमा अध्ययन गरेका थिए ।

उनीहरूलाई दैनिक खानेकुरा र पेय पदार्थहरूका साथै कफी कहिले र कति पिउने भनेर सोधिएको थियो । अध्ययनका अनुसार ३६ प्रतिशत सहभागीहरूले बिहान कफी पिउने र १४ प्रतिशतले बिहानको सट्टा दिनको कुनै पनि समयमा कफी पिउने बताएका थिए ।

डा. ची र उहाँको टोलीले झन्डै एक दशकसम्म सहभागीहरूलाई पछ्याउँदै उनीहरूको मृत्युको कारणबारे जानकारी लिएका थिए । झन्डै १० वर्षपछि चार हजार दुई सय ९५ जनाको मृत्यु भएको थियो जसमध्ये एक हजार दुई सय ६८ जनाको मृत्यु मुटुसम्बन्धी रोगको कारण थियो ।

यसअघिको अनुसन्धानले मध्यम मात्रामा कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने कुरा पत्ता लगाए पनि डा. चीले आफ्नो अध्ययन कफी पिउने समय र यसले स्वास्थ्यमा पार्ने असरहरू हेर्ने पहिलो भएको बताउनुभएको छ ।

अनुसन्धानकर्ताहरूले बिहानको कफी पिउनेहरूमा कफी नपिउनेहरूको तुलनामा मुटु रोगबाट ज्यान गुमाउने सम्भावना ३१ प्रतिशतले कम हुने पत्ता लगाए ।

दिनभर कफी पिउने धेरै मानिसहरू निद्रासम्बन्धी समस्याबाट ग्रस्त हुने गरेका लन्डनको रोयल ब्रोम्पटन र हेफिल्ड अस्पतालका प्रोफेसर थोमस एफ लाशरले बताउनुभयाे । कफीले मस्तिष्कमा निद्रा उत्प्रेरित गर्ने मेलाटोनिनलाई दबाउन मद्दत गर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया