समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारीले राजीनामा दिए

 असोज ८, २०७८ शुक्रबार १७:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाज कल्याण परिषद्का उपाध्यक्षसहितका पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन् । परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरूले आज शुक्रवार पत्रकार सम्मेलन गरी आफूहरूले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनुभएका परिषद्का अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको मात्रै म्याद थप गर्न नदिएपछि आफूहरूले पदबाट राजीनामा दिनुपरेको परिषद्का सदस्य सचिव खातीले जानकारी दिनुभयो । 

२०५३ सालदेखि अस्थायी, ज्यालादारी र करारमा काम गर्दै आएका सबै कर्मचारीको म्याद थप हुने तर ओली नेतृत्वको सरकारको पालाका कर्मचारीहरूको चाँहि म्याद थप नहुने अवस्था परिषद्को स्थापित मान्यता विपरीत भएकाले आफूहरूले सरकारलाई मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

परिषद्का उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष सुवेदी, सदस्य सचिव खाती, बोर्ड सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ र  डा. मणिराम बञ्जाडेलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल साउन ५ गते परिषदमा नियुक्त गरेको थियो । 

आज विहानै प्रधानमन्त्री देउवालाई सामूहिक रूपमा राजीनामा बुझाएका उनीहरूले आफनो १४ महिने कार्यकालमा सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको क्षेत्रको रूपमा स्थापित गराउने गरी अघि बढाएको, परिषद्लाई प्रविधिमैत्री बनाएको र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई पूरा गराउने दिशामा आफूहरूले सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् । 

परिषद्का उपाध्यक्ष खतिवडाले आफूहरूले परिषद्लाई विधिसम्मत ढङ्गले अघि बढाउन खोज्दा पनि सरकारले नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । आफूहरूमाथि वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएकाे पनि राजीनामा दिएका परिषद्का पदाधिकारीहरूकाे आरोप छ ।  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया