‘जय नेपाल’ काे सुरुवात यसरी भयाे

 असोज ११, २०७८ सोमबार १३:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

पुरुषाेत्तम बस्नेत, कांग्रेस मामिला जानकार

काठमाण्डाै – जय नेपाल ! याे हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति, पेसा र सन्दर्भमा फरक–फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रूपमा पनि प्रयोग भइरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनीतिक रूपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरूले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । अझ भनौँ– कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो, कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो भनेर बुझ्ने चलन छ । विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ ।

खासमा यो वाक्य कसरी प्रयोगमा आयो ? कसले प्रयोगमा ल्यायो ? भन्नेबारे हामीले एक सामग्री बनाएका छौँ । 

पुरुषोत्तम बस्नेत, कांग्रेस मामिलाका जानकार

‘गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकारिक प्रमाण पाइँदैन ।’

‘नेपालमा राणाशासन छँदा कै कुरा हो । भारतमा अङ्ग्रेजहरूको औपनिवेशिक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरू आपसमा जय हिन्द भनेर सम्बाेधन गर्दथे ।’ 

‘वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत धेरै नेपाली युवाहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणाशासन अन्त्य गर्न सकिँदैन भन्ने उनीहरूको बुझाइ थियो ।’

‘भारत स्वतन्त्र हुने झन्डै–झन्डै तय भएपछि नेपालमा राजनीतिक दलहरू खुल्न थाले । नेपाली कांग्रेसका नेताहरूबीच जय नेपाल भनेर सम्बाेधन गर्ने चलन त्यही बेला सुरु भएको हो ।’ 

‘त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाण्डाैलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो । हामीभन्दा अघिको पुस्ताले काठमाण्डाैलाई नेपाल नै भनेको सुनेका हौँ ।’

‘नेपाली कांग्रेसमा खासगरी वीपीलाई के लाग्यो भने काठमाण्डाैलाई काठमाण्डौ र मेचीदेखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनुपर्छ । २००७ सालको क्रान्तिदेखि त्यसलाई आन्दोलनकै रूपमा अघि बढाइयो । मुक्ति सेनाका जवानबीच भेट्दा र छुट्टिँदा जय नेपाल भन्ने चलन सुरु भयो । त्यसैको आधारमा प्रहरीले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ ।’

जय नेपाल प्रहरी वृत्त कीर्तिपुर

‘२००७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरू नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्च पद आईजीपी पनि भए । जसमा जीबी याकथुम्वबा, पूरण सिंह खवास, रोमबहादुर थापा र डीबी लामालगायत थिए ।’

‘त्यसैगरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किनभने नेपाली कांग्रेसले क्रान्तिको बेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले जय नेपाल भनेर प्रसारण सुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाण्डाै ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रसारण सुरु गर्दा जय नेपाल भनेर सुरु गर्छ ।’ 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया